काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार रौतहटको भन्सार टोल घर भई हाल काठमाडौंको कपन बस्ने ३३ वर्षीय अरविन्द कुमार जैसवाललाई आइतबार कपनबाट पक्राउ गरिएको हो ।
सीआईबीका अनुसार जैसवालले आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी जाहेरवालाई झुक्यानमा पारी वि.सं. २०७६ भदौ ५ गते दिएको चेकको भुक्तानी हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले वि.सं. २०७८ मंसिर १४ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार नौ लाख रुपैयाँ जरिवाना र दुई दिन कैदको फैसला गरेको थियो ।
अदालतको उक्त फैसलालगत्तै फरार रहेका जैसवाललाई सीआईबीको फैसला कार्यान्वयन तथा खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आइतबार कपनबाट पक्राउ गरेको हो । पक्राउ परेका जैसवाललाई फैसला कार्यान्वयनको लागि सोही दिन काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जानकारी दिएको छ ।