काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको आठ महिनापछि प्रमुख प्रतिपक्ष नेकपा एमालेले यो बीचको अवधिमा देशको अर्थतन्त्र तहसनहस भएको भन्दै ‘श्वेतपत्र’ अर्थात् स्थितिपत्र सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ ।
‘देशको अर्थतन्त्रका सबै सूचकहरु खराब छन्’, नेकपा एमालेको उद्योग विभागले आइतबार राजधानीमा आयोजना गरेको उद्योगी/व्यवसायीहरुसँगको छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, ‘देशको अर्थतन्त्र टाट उल्टिनलागेको छ । अर्थतन्त्रका सबै सूचकांक नकारात्मक छन् । राम्रो छ भनेर प्रचार गरेर हुँदैन । तथ्य र तथ्यांकसहित देशको अहिलेको अर्थतन्त्रको बारेमा अर्थमन्त्रीले ‘श्वेतपत्र’ अर्थात् स्थितिपत्र सार्वजनिक गर्नुपर्छ । त्यसपछि एमालेले त्यसको जवाफ दिनेछ ।’
अर्थतन्त्रका सबै सूचकांक नकारात्मक भएको भन्दै स्थिति अति नै भयावह भएको ओलीको ठहर छ । आफ्नो सरकार विस्थापित हुँदा देशमा साढे ११ महिनाको लागि वस्तु तथा सेवा आयात गर्ने विदेशी मुद्रा सञ्चित रहेकामा अहिले मुस्किलले छ/साढे छ महिनाका लागि मात्र आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको भन्दै यसले अर्थतन्त्र अति कमजोर अवस्थामा पुगेको स्पष्ट संकेत गरेको एमाले अध्यक्ष ओलीको भनाइ छ ।
सरकारले खपतमूलक वस्तु आयातमा लगाम लगाउन नसक्नु सबैभन्दा ठूलो भूल भएको एमालेको ठहर छ । देउवा नेतृत्वको वर्तमान सरकारले केराउ, मरिच, सुपारीजस्ता वस्तु आयात खुला गरेर तस्करहरुको माग सम्बोधन गरिदिएको छ । यसले विदेशी मुद्रा सञ्चितिमा थप दबाब पर्ने निश्चित छ । प्रतिबन्ध लागेपछि ती वस्तुका आयात खुलाउन तस्करीमा संलग्नहरुले सुरुदेखि नै प्रलोभन दिँदै आएका थिए । उद्योगमन्त्री आफैँ भएको बेला तस्करहरुको आश्वासनमा परेर प्रधानमन्त्री देउवाले अत्यधिक भारत तस्करी हुने ती वस्तु आयात खुला गरिदिएका छन् ।
ओलीले पटक–पटक उद्योगका लागि चाहिने कच्चा पदार्थ आयातमा लाग्न उद्योग र व्यापारीहरुलाई आग्रह गरे । आफ्नो सरकारले रेडबुलजस्ता विदेशी दूषित पानी आयातमा प्रतिबन्ध लगाए पनि वर्तमान सरकारले खुला गरिदिएको भन्दै व्यापारीहरुलाई पनि त्यस्तो पानी ल्याएर बिक्री नगर्न आग्रह गरे । केही व्यापारीको हितका लागि देशको अर्थतन्त्र बिगार्ने काममा नलाग्न पनि अग्रह गरे ।
वर्तमान सरकारका मन्त्रीहरुले आफूहरुलाई सहयोग नगर्ने उद्योगी तथा व्यवसायीहरुलाई व्यवसाय बन्द गराइदिने, बाधा–अवरोध खडा गरिदिने धम्की दिएको भन्दै ओलीले त्यसको आफ्नो पार्टीले डटेर प्रतिवाद गर्ने बताए । साथै उनले सरकारमा बसेकाहरुको धम्कीपूर्ण भाषाको प्रतिवाद गर्न पनि आग्रह गरे ।
वर्तमान सरकारले कमिसन नपाएको कारण भएको पुँजीगत खर्चको समेत भुक्तानी नदिएको भन्दै तत्काल भुक्तानी दिन आग्रह गरे । सरकारले मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने घोषणा गरे पनि अहिले आठ महिनाको अवधिमा २० प्रतिशत मात्र पुँजीगत खर्च भएको भन्दै चालू आवमा पुँजीगत खर्च इतिहासकै सर्वाधिक कम हुने दाबी एमालेको छ । पुँजीगत खर्च नै हुन नसकेपछि देशको अर्थतन्त्र थप चौपट हुने एमालेको ठम्याइ छ । देशले पुँजीगत खर्चका लागि लिएको ऋण समेत खर्च नगरेको भन्दै त्यसप्रति पनि पूर्वप्रधानमन्त्री ओलीले सरकारको आलोचना गरे । पुँजीगत खर्चका लागि ऋण लिने तर खर्च नगरी राख्ने अनि ब्याज डलरमा तिर्दा त्यसले देशको अर्थतन्त्र थप कमजोर हुने ओलीको भनाइ छ ।
पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकारले युवाहरुलाई उद्योगी बनाउनेभन्दा पनि पैसा बाढेर एकछाक टार्ने काम मात्र गरेको भन्दै यसले अनुशासनहीन बढाएको दाबी गरे । कार्यकर्तालाई बेलगाम पैसा बाढेर देशको अर्थतन्त्रलाई तहसनहस बनाउने काम सरकारले नै गरेको भन्दै यस्तो कार्यले उत्पादनमूलक जनशक्ति नभई निकम्मा र मागेर खाने अवस्था सिर्जना गरेको आरोप लगाए । ‘पैसा बाँडेर आत्मनिर्भरता होइन सरकारले परनिर्भरताको बाटो हिँडाउने काम ग-यो’, एमाले अध्यक्ष ओलीले भने ।
ओलीले विभिन्न उद्योगी तथा व्यवसायीको धारणा सुनेपछि आफ्नो भनाइ राखेका थिए । उनले आफू नेतृत्वको सरकारले आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाए पनि अहिलेको सरकारले त्यसलाई बेवास्ता गर्दा अर्थतन्त्र थप कमजोर बनेको दाबी गरे । कार्यक्रममा पूर्वउद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले खस्कँदो अर्थतन्त्रलाई उकास्न र उद्योगी व्यवसायीको समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान नगएकोमा विरोध गरेका थिए । उनी एमालेको उद्योग विभाग प्रमुख पनि हुन् ।