काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड १९ को प्रकोप यथावत् रहे पनि प्रतिस्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरू साथै बीमितको आवश्यकताअनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरूले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताइन् । नेपालको बीमा बजारमा आउने दिनहरूमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरूको बढी माग हुने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तीय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयासहरू साथै बढ्दो घरेलु वचत एवं प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिको कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको धारणा राखिन् ।
सभामा अध्यक्षले आव २०७६/०७७ मा कम्पनीको सबै वित्तीय सूचकांकहरू उत्साहप्रद रहेको छ । कुल बीमाशुल्क १५ दशमलव १२ प्रतिशतले वृद्धि भई नौ अर्ब २६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । जीवन बीमा कोष २४ दशमलव २९ प्रतिशतले वृद्धि भई ३३ अर्ब ४६ करोड पुगेको र कुल लगानी १८ दशमलव ८४ प्रतिशतले वृद्धि भई ३१ अर्ब ८५ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आव २०७६/०७७ मा वार्षिक औसत प्रतिफल १० दशमलव १६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पुँजी समेत सन्तोषजनक रहेको र चालू वर्षको बोनस समेत गरी कुल पुँजी चार अर्ब तीन करोड रुपैयाँ नाघेको छ । कम्पनीको बीमाकीय मूल्यांकन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन फ्युचर बोनस प्रोभिजनिङमा यथेष्ट व्यवस्था गरिए पनि बीमितहरूलाई पूर्ववर्षसरह बोनसदर प्रदान गर्न सफल भएको छ । आगामी वर्षहरूमा समेत बीमितहरूलाई बीमा लेखमा यथोचित प्रतिफल उपलब्ध गराउने अध्यक्षले कम्पनीको प्रतिबद्धता जनाइन् ।
सभामा अध्यक्षले आव २०७७/०७८ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमा शुल्क ७१ प्रतिशतले वृद्धि भई चार अर्ब नाघेको जानकारी दिइन् । आउने दिनहरूमा समेत नेसनल लाइफ इन्स्योरेन्स कम्पनी एक मुख्य बीमकको रूपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रगामी भूमिका निर्वाह गर्नेमा विश्वास प्रकट गरिन् । कम्पनीले शाखा सन्जाल, अभिकर्ता व्यवसायिकीकरण एवं प्रविधिमा थप लगानी गर्ने योजना रहेको जानकारी गराइन् ।
सभाले आव २०७६/०७७ को लागि चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयरबापतको कर प्रयोजनको लागि तीन करोड ३९ लाख आठ हजार आठ सय ९२ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ । यसैगरी सो साधारणसभाबाट संस्थापक समूह ‘क’ वर्गबाट तीन जना अर्थात् श्रीमती प्रेमाराज्य लक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्ली सञ्चालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण ‘ख’ वर्गवाट दुई जना भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् ।