ब्रसेल्स । रुसी इन्धनमाथिको निर्भरता युरोपेली राष्ट्रहरुले तोड्ने भएका छन् । उनीहरुले सन् २०२७ पछि रुसी ग्यास र तेल प्रयोग नगर्ने भएका हुन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियानले शुक्रबार युरोपका नेताहरुले अबको दुई महिनाभित्र यससम्बन्धी मस्यौदालाई अन्तिम रुप दिन सहमत भएको बताएकी छिन् । योसँगै सन् २०२७ सम्म मात्रै युरोपले रुसी ऊर्जा आयातमाथिको निर्भरतालाई सीमित गर्ने भएको छ ।
युक्रेनमा रुसले गरिरहेको आक्रमणबारे ईयू नेताहरुसँगको आकस्मिक छलफलपछि उनले थपिन्, ‘आगामी मध्यमेसम्ममा रुसी इन्धनमाथिको निर्भरता अन्त्यको प्रस्तावसहितको मस्यौदालेखन टुंगिनेछ ।’ युरोपेली संघले आफ्नो ऊर्जा आपूर्तिलाई विविधीकरण गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया हडप्दादेखि नै युरोपले यसबारे सोचिरहेको थियो । सो क्रममा थोरैमात्र प्रगति भएको थियो । खासगरी युरोपमा रुसी इन्धनमा धेरै निर्भर रहेको जर्मनी सहमत भइरहेको थिएन । तर गत महिना युक्रेनमाथि आक्रमण थालेसँगै युरोप अहिले एकजुट भएको छ ।
आक्रमण सुरु हुँदालगत्तै जर्मनीले नर्ड स्ट्रिम २ पाइपलाइन प्रमाणीकरण रद्द गरेको थियो । यो त्यस्तो परियोजना हो जहाँ जर्मन कम्पनीहरुकै लगानी छ । यसले युक्रेनलाई छोडेर रुसबाट सिधै युरोपमा ग्यास आयात गर्न मिल्छ । यही हप्ताको सुरुतिर भन डर लियेन र उनका अधिकारीहरुले रुसबाट ग्यास आयात घटाउने योजना बनााएका थिए ।
युरोप प्राकृतिक ग्यासमा ४० प्रतिशत रुससँग निर्भर छ । रुसले युरोपले आयात गर्नेमध्ये २७ प्रतिशत तेल निर्यात गर्छ । यसबाहेक कोइला आयातको हिस्सा ४६ प्रतिशत रहेको छ । यी सबैलाई गर्दा युरोपले वर्षेनी दशौँ अर्ब डलर रुस पठाउँछ ।