मस्को । रुसले सामाजिक सञ्जाल इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । हिंसालाई प्रश्रय दिएको भन्दै रुसी मिडिया नियामकले देशमा इन्स्टाग्रामलाई प्रतिबन्ध लगाएको हो ।
इन्स्टाग्रामको मातृकम्पनी मेटाले भने केही देशहरुमा रुसी सेना र राष्ट्रपतिविरुद्धको हिंसालाई अनुमति दिनसक्ने बताएको छ । यो तत्कालका लागि मात्रै हुने मेटाले बताएको छ । युक्रेनमा रुसले आक्रमण गरिरहँदा ‘रुसी आक्रमणकारीलाई मार’ जस्ता वाक्यांशका पोस्टहरु इन्स्टाग्राम र फेसबुकमा देखिएका छन् । यसले सामान्यतया हिंसाविरोधी नियम उल्लंघन गरेको छ ।
यद्यपि कम्पनीले रुसी नागरिकलक्षित हिंसात्मक पोस्टलाई भने निरुत्साहन नै गर्ने बताएको छ । रुसले भने अमेरिकालाई सामाजिक सञ्जालका अतिवादी गतिविधि नियन्त्रण गर्न आग्रह गरेको छ । गत शुक्रबार मात्रै रुसी अभियोजनकर्ताको कार्यालयले मेटाविरुद्ध आपराधिक अनुसन्धान सुरु गरेको छ ।
यही मार्च ४ मा फेसबुकमाथि प्रतिबन्ध लगाउने बताइएको थियो । मेटा फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी हो । यसका बाबजुद ह्वाट्सएपमाथि भने अहिले नै रुसमा प्रतिबन्ध लगाइएको छैन ।