काठमाडौं । मिर्गौला प्रत्यारोपण सम्भव भए पनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अङ्गदान गर्न पाउने कानुनी व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । नेपालको कानुनमा रहेको आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गौलारोगीको उपचार सहज हुने उनीहरुको भनाइ छ ।
नेपालमा बढ्दो मिर्गौलारोगीको उपचार स्वदेशमै सम्भव भए पनि दाता नहुँदा धेरैले प्रत्यारोपणको अभावमा ज्यान गुमाउने गरेका छन् । आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने कानुन संशोधन गरेमा भने दाताको संख्या वृद्धि हुने उनीहरुको भनाइ छ । विश्व मिर्गौला दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो कानुन संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए । आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गौलारोगीको उपचार अझै सहज हुन उनको भनाइ छ ।
मिर्गौलारोगीका निम्ति जीवनदानका लागि अङ्गदानमा प्रोत्साहन गर्नुपर्ने किष्ट मेडिकल कलेजका प्राचार्य प्राडा बालमानसिंह कार्की बताउँछन् । मिर्गौलादाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको भन्दै मृत्युपश्चात् अङ्गदानप्रति जनचेतना जगाउनु आवश्यक रहेको डा. दिव्या सिंह शाहले बताइन् । मृत्युपश्चात् अङ्गदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा. रोशन पोखरेलको भनाइ छ ।
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उपचारपद्धतिमा विज्ञान प्रविधिले थपेको आयाम प्रयोगले स्वास्थ्य क्षेत्रमा ठूलो विकास भएको बताए । उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनावग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गाैला बचाउनु चुनौतीपूर्ण बनेकाले यसतर्फ सतर्क रहनुपर्ने सुझाव चिकित्सकको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र वर्षेनी तीन हजार जनाको मिर्गौला फेल हुनेगरेको छ । हालसम्म २५ सय जनामा मिर्गौला प्रत्यारोपण भइसकेको र सात हजार जना डाइलासिस गराएर प्रत्यारोपणको पर्खाइमा छन् ।