काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक र विराटनगरस्थित न्यूरो कार्डियो अस्पतालबीच यही फागुन २७ गते भएको सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कमा २० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी नेपाल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
विराटनगरमा भएको उक्त सम्झौतापत्रमा न्यूरो कार्डियो अस्पतालका तर्फबाट सञ्चालक निर्देशक राजेश भट्टराई र नेपाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा हस्पिटलका सञ्चालक निर्देशक राजेश भट्टराईले न्यूरो कार्डियो हस्पिटलले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी गराउँदै बैंकका सम्पूर्ण कर्मचारीहरू एवं ग्राहकहरूलाई न्यूनतम शुल्कमा उच्चस्तरीय स्वास्थ्य सुविधा प्रदान गर्ने अवसर मिलेकोमा आफू धेरै नै खुशी भएको धारणा व्यक्त गरे ।
त्यसैगरी नेपाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले विराटनगरमा स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल न्यूरो कार्डियो हस्पिटलसँग सहकार्य गर्न पाएकोमा हस्पिटलप्रति आभार प्रकट गर्दै बैंकका सम्पूर्ण कर्मचारीहरू एवं डिजिटल र कार्डमार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटलप्रति आभार समेत व्यक्त गरे । साथै उनले यस विशेष छुट सुविधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरू र ग्राहकहरूले लाभान्वित हुने विश्वास समेत व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल बैंक प्रदेश नं. १ प्रादेशिक कार्यलयका प्रमुख सूर्यप्रकाश भट्ट, सिटी अफिस विराटनगर तथा बजार अड्डा शाखाका शाखा प्रबन्धकहरू र बैंकका अन्य कर्मचारीहरू र न्यूरो कार्डियो अस्पतालका कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।