काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र ग्यास बिक्रेता महासंघ, नेपालबीच सम्झौता भएको छ । बैंकका अनुसार ग्यास बिक्रेता तथा उपभोक्ताहरूलाई ग्यास खरिद तथा बिक्री गर्दा क्यूआरमार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्द्धनका लागि सहकार्य गर्ने विषयमा उक्त सम्झौता भएको हो ।
सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास बिक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना भुक्तानी साझेदारहरू स्मार्ट च्वाइस टेक्नोलोजिज र फोन–पेसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवर्द्धनका लागि ग्यास बिक्रेता महासंघ, नेपालसँग समन्वय गरेको हो । सुरक्षित र भरपर्दो माध्यमको रूपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि बैंकले विभिन्न संघसंस्थासँग सम्झौता गर्दै आएको छ । महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आबद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेताहरू सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।
बैंकले मुलुकभर दुई सय ८७ वटा शाखा, दुई सय ५२ वटा एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा मुलुकबाहिर तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय ६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।