ब्रिसबेन । अस्ट्रेलिया र नेदरल्यान्ड्सले रुसविरुद्ध संयुक्त राष्ट्रसंघको नागरिक हवाइ उड्डयन संस्थामा मुद्दा हाल्ने तयारी गरेका छन् । सीएनएनका अनुसार सन् २०१४ मा मलेसिया एयरलाइन्सको फ्लाइट १७ विमानलाई खसालेको भन्दै रुसविरुद्ध कानुनी कदम चाल्न लागेको अस्ट्रेलियाली सरकारले एक वक्तव्यमार्फत जनाएको हो ।
मलेसिया एयरलाइन्स आमस्टरडम–क्वालालम्पुर उडानको दौडान २०१४ को जुलाईमा युक्रेनी रुससमर्थक विद्रोहीले क्षेप्यास्त्र हानी खसालेका थिए । सो घटनामा सबै २ सय ९८ जना यात्रु मारिएका थिए ।
रुसले भने एमएच१७ विमान खसाल्न आफ्नो कुनै भूमिका नभएको भन्दै पन्छिँदै आएको थियो भने अस्ट्रेलियाले भने कानुनी कदम चाल्ने बताउँदै आएको थियो । सन् २०२० अक्टोबरमा यसबारेको छलफलमा रुसले सहभागी हुन मानेको थिएन। अहिले भने अस्ट्रेलिया र नेदरल्यान्ड्सले रुसविरुद्ध राष्ट्रसंघमा उजुरी गर्नलागेका हुन् ।
रुसले युक्रेनी पृथकतावादीलाई क्षेप्यास्त्र सहयोग गरेको र त्यही प्रहारबाट विमान खसालिएको बताउँदै रुसलाई कानुनी दायरामा ल्याउने बताएका छन् । क्षेप्यास्त्र प्रहारमा रुसको प्रत्यक्ष सहभागिता भएको उनीहरुले आरोप लगाएका छन् ।