काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ, जसअन्तर्गत सानिमा बैंकका ग्राहकहरूलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्नसक्ने बैंकले जनाएको छ ।
यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा विनाझन्झट सिधै बैंकको सानिमा सजिलो ई–बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । उक्त सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन्, ‘हाम्रा ग्राहकहरूलाई सजिलो फन्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर हो ।
यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पु-याउनेछ भन्ने आशा लिएका छौँ । ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तैः मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।