ब्रसेल्स । युरोपेली युनियनले रुसविरुद्ध फेरि प्रतिबन्ध थपेको छ । मंगलबार युरोपेली युनियनले रुसी ऊर्जा क्षेत्रलाई निशाना बनाएको हो । युक्रेनविरुद्ध आक्रमण गरेको विरुद्धमा युरोपेली युनियनले ऊर्जा क्षेत्रबाहेक, विलासी सामान निर्यात र स्टिल उत्पादन आयातमाथि प्रतिबन्ध लगाएको हो । पछिल्लो प्रतिबन्धले रुसी सरकारलाई समर्थन गर्ने व्यावसायिक व्यक्तिहरुमाथि पनि निशाना लगाएको छ जसमा चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिकसमेत परेका छन् ।
योसँगै रुसी ऊर्जा क्षेत्रमाा लगानी गर्न पाइनेछैन । त्यसमा नागरिक आणविक ऊर्जा र केही निश्चित ऊर्जा उत्पादनलाई भने छुट दिइएको छ । यसले रुसको तेल क्षेत्रलाई मुख्य धक्का दिनेछ । त्यसमा पनि रोसनेफ्ट र गाजप्रोम नेफ्ट परेका छन् । यद्यपि यी कम्पनीबाट ईयूले भने ग्यास र तेल किन्न सक्नेछन् । त्यस्तै केही रुसी सरकारी उद्यमसँगको कारोबारमा पूर्ण प्रतिबन्ध लगाइएको छ । सोमबार ईयू सदस्यराष्ट्रबीच पछिल्लो प्रतिबन्धबारे सहमति भएको थियो ।