दोलखा, माघ २८
तामाकोशी गाउँपालिका जिल्लामै फरक किसिमको अभियान चलाउने भएको छ । गाउँपालिकाले आफ्नो घर सफा राखेबापत घरमूलीलाई सम्मान गर्ने भएको हो । पालिकाले गाउँघरलाई सफा राख्ने उद्देश्यले ‘मेरो घर सफा घर’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । पालिकाले घर सफा राख्ने प्रत्येक वडाका ६३ जना घरमूलीलाई नगद तीन हजारका दरले पुरस्कार समेत प्रदान गर्न बजेट नै छुट्याउने निर्णय गरेको छ ।
पालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले गाउँपालिकाको छैठौँ हिउँदे गाउँसभाको अवसरमा गाउँघर सफा राख्ने अभियान चलाउने निर्णय गरेको बताए । त्यसैगरी पालिकाले अन्य विभिन्न कार्यक्रमको सुरु गर्ने भएको छ । गाउँसभाले ‘ग’ वर्गमा पर्ने अपाङ्गहरूलाई मासिक एक हजार भत्ता दिने भएको छ । गाउँपालिकाले खानेपानी व्यवस्थापन गर्न सबै वडामा ‘एक घर एक धारा’को कार्यक्रमलाई तीव्रता दिएर सबै स्थानीयलाई खानेपानी उपलब्ध गराउने जनाएको छ ।
त्यसैगरी कृषिक्षेत्रको अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यदल गठन गरी काम सुरु गर्ने पालिकाले जनाएको छ । गाउँसभामा अध्यक्ष पोखरेलले सामूहिक खेतीलाई प्राथमिकतामा राख्ने, सुकुम्बासीविहीन गाउँपालिका घोषणा गर्ने, विद्यालयमा औचित्यको आधारमा शिक्षक व्यवस्था गर्ने बताए । साथै यस वर्षदेखि गाउँपालिकाभित्र सुगर र प्रेसर रोगीहरुलाई पनि औषधि निःशुल्क दिने निर्णय गरेको उनले बताए ।