काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कर सहजीकरणका लागि आन्तरिक राजस्व विभागसँग आग्रह गरेको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक रितेश कुमार शाक्यसँग भेटी आन्तरिक राजस्वसम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेको हो ।
छलफलमा अध्यक्ष थापाले सवारीसाधन बिक्री गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तीय निकायहरुको अनिश्चितताको कारण मूल्य अभिवृद्धि करको बिल बीजक काट्न ढिलाइ हुने र सो समयमा वास्तविक स्टक समेत नदेखिने हुँदा त्यसको सहजीकरणका लागि आग्रह गरे । यस्तै नाडाबाट हरेक वर्ष सञ्चालन हुने तालिम कार्यक्रममा विभागले सहयोग गर्दै आएको भन्दै उनले आगामी दिनमा सातवटै प्रदेशमा आयोजना गर्ने करसम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगको लागि आग्रह गरे ।
छलफलमा उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर बिल जारी गरी सो बिलमा एचएस कोड समेत उल्लेख गरिनुपर्ने भन्दै अटोमोबाइल स्पेयर पार्टसको अनधिकृत आयातको रोकथामका लागि सीमानाकाहरुलाई कडाइ गरिनुपर्ने बताए । महासचिव सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल व्यवसायीहरुलाई मूल्यअभिवृद्धि करमा अनिवार्य दर्ता गर्नुपर्ने विषयलाई कडाइसाथ लागू गर्ने व्यवस्थाका लागि अनुरोध गर्दै अनलाइन पेमेन्टको व्यवस्थाका लागि समेत आग्रह गरे ।
छलफलमा महानिर्देशक शाक्यले सिष्टममा सुधार गरिने, खुला सीमा राज्यकै समस्या भएको, सबै करदताहरुका लागि एउटै व्यवस्था गरिने बताए । त्यसैगरी छलफलमा उपमहानिर्देशक अर्र्जुनप्रसाद भट्टराईले व्यवसायीहरुले बिल बीजकहरु यथाशक्य छिटो काट्ने व्यवस्थाका लागि आग्रह समेत गरे । उक्त छलफलमा सो विभागमा उपमहानिर्देशकहरु गोविन्द प्रसाद सुवेदी र रमेश शर्मा पौडेल समेतको उपस्थिति थियो । त्यसैगरी सो छलफलमा निर्देशक पदम कुमार श्रेष्ठ समेतको उपस्थिति थियो । सो छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानियालगायत कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति थियो ।