काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा नयाँ शाखा विस्तार गरेको छ । समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउनका लागि भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा आफ्नो नयाँ शाखाहरूको समुद्घाटन गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार थिमी शाखाको उद्घाटन बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका, मेयर मदनसुन्दर श्रेष्ठले संयुक्तरूपमा गरेका छन् । त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक नवीनभक्त श्रेष्ठ र कागेश्वरी मनहरानगरपालिकाका, मेयर कृष्णहरि थापाले संयुक्तरूपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक, सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसै उद्घाटन समारोहमा सञ्चालक श्रेष्ठले थिमी र काँडाघारीका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय १२ वटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ४५ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।