काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समयसापेक्ष ग्राहकहरूको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरू ल्याउने क्रममा नेपाल लाइफ अनमोल जीवन जीवन बीमा योजना ग्राहकहरूमाझ प्रस्तुत गरेको जानकारी दिएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा रहेको कम्पनीको भनाइ छ ।
भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जीवनका हरपलहरू जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिँदैन । यस्तो जोखिम मानिसको जीवनमा बाँचुन्जेल चलिरहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना बजारमा ल्याएको हो’, कम्पनीले भनेको छ । बीमा अवधि समाप्तिपश्चात् पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिमअन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहनबापतको समर्पण मूल्य भुक्तानी लिनसक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता हो ।
विशेषताहरू : १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम पाँच वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजार रुपैयाँदेखि आयस्रोतको आधारमा जति पनि बीमांक रकमको बीमा गर्न सकिनेछ ।
बीमाशुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमाशुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमाशुल्कमा एक प्रतिशत छुट प्राप्त हुनेछ तर अर्धवार्षिक छनोट गर्दा छुट प्राप्त हुनेछैन । त्यसैगरी यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमाशुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमाशुल्कमा तीन प्रतिशत थप लाग्नेछ भने मासिक छनोट गर्दा छ प्रतिशत थप लाग्नेछ ।
ऋण तथा समर्पण सुविधा : कम्पनीका अनुसार यो बीमा योजनामा वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात् समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
बीमालेखको बीमा अवधि समाप्तिपश्चात् पनि जोखिम वहन गरी रहने तर बीमितले चाहेमा, पूर्ण अवधि भुक्तानी भएको पाँच वर्ष पूरा भइसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिनेछ । यसको साथै बीमितले इच्छाएअनुसार अग्रीम भुक्तानीको रूपमा उल्लेख भएअनुसार समेत भुक्तानी लिन सक्नेछ । यसको लागि बीमितले बीमा सुरु गर्दाको समयमा नै कुन तरिकाको सरभाइबल बेनिफिट लिने भनी उल्लेख गर्नुपर्ने हुन्छ ।
बीमालेखको बीमा अवधि समाप्तिपश्चात्को समर्पण गणना गर्दा सुरुमा नै उल्लेख गरेको सर्भाइबल बेनिफिट लिने तरिकालाई आधार मानी समर्पण मूल्य गणना गरिनेछ तर यस्तो समर्पण रकममा कर्जा प्राप्त हुने छैन । बीमा अवधि समाप्तिपश्चात्को समर्पण तथा सर्भाइबल बेनिफिट सुविधा लिनको लागि परिपक्वसम्मको सम्पूर्ण किस्ता समयमा नै भुक्तानी गरेको हुनुपर्नेछ ।
ऐच्छिक सुविधाहरू : दुर्घटना मृत्यु लाभ सुविधा (एडीबी) १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकमबराबर अधिकतम एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ (एडीबी) सुविधा लिन सक्नेछन् ।
बीमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा : १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकमबराबर अधिकतम एक करोड रुपैयाँसम्मको बीमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा लिन सक्नेछन् ।
घातक रोग सुविधा : १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकमबराबर अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग सुविधा लिन सक्नेछन् ।
बीमांक रकम भुक्तानी पाउने अवस्था, पूर्ण अवधि भुक्तानी
बीमालेख चालू रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तिको अन्त्यमा बीमांक रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइनेछ ।
आंशिक अवधि भुक्तानी : सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्तिपश्चात् बीमित जीवित रहिरहेमा तल उल्लेख गरेअनुसारको प्रतिशतमा बीमितले छनोट गरेबमोजिमको बीमांक रकम पुनः प्रदान गरिनेछ । जसको लागि बीमा सुरु गर्दाको समयमा नै बीमाअवधि समाप्तिपश्चात् कुन तरिकाको बीमांक लिने भनी उल्लेख गर्नुपर्ने हुन्छ ।
क) बीमितको उमेर ७५ वर्ष पुगेपछि बीमांक रकमको ६० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।
ख) बीमितको उमेर ८० वर्ष पुगेपछि बीमांक रकमको ८० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।
ग) बीमितको उमेर ८५ वर्ष पुगेपछि बीमांक रकमको एक सय प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।
यदि बीमाशुल्क भुक्तानी अवधि समाप्तिपश्चात बीमितले आफूले उल्लेख गरेको आंशिक अवधि भुक्तानी उपभोग गर्नुअगावै बीमितको मृत्यु भएमा पुनः पूरा बीमांक रकम प्रदान गरिनेछ ।
मृत्युदाबी भुक्तानी : बीमालेख चालू रही बीमा अवधि समाप्तिभित्र जुनसुकै कारणबाट (बीमालेखअन्तर्गत नपर्ने जोखिमहरूबाहेक) बीमितको मृत्यु भएमा बीमांक रकममा आर्जित बोनस थपेर एकमुस्ट भुक्तानी दिइनेछ । सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्तिपश्चात्को सुविधा उपभोगको लागि छनोट गरेको उमेरभित्र जीवित लाभ रकम लिनुभन्दा अगाडि जुनसुकै समयमा बीमितको मृत्यु भएमा पुनः बीमांकबराबरको रकम प्रदान गरिनेछ ।
बीमा अवधि समाप्तिपश्चात् कुनै पनि घटना घटेमा ऐच्छिक सुविधाबापतको रकमको दाबी भुक्तानी दिइने छैन । यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको अवस्थामा चालू बीमालेख अन्तर्गत बीमा अवधि समाप्ति भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम प्लस एडीबी सुविधाबापतको बीमांक रकम प्लस आर्जित बोनस रकम एकमुस्ट भुक्तानी दिइनेछ ।
यदि दुर्घटना मृत्युलाभ तथा पूर्ण अशक्तता लाभ सुविधा लिएको बीमालेख चालू रही बीमा अवधि भुक्तानीभित्र बीमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूर्ण अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूर्ण अशक्तता सुविधाबराबर रकम मासिक एक सय २० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ । सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्तिपश्चात्को थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटनाबापतको रकम प्रदान गरिने छैन । (आर्थिक दैनिकबाट)