काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वदेशमै उपलब्ध वस्तु आयात नगर्न व्यवसायीलाई आग्रह गरेकी छिन् । नेपाल हस्तकला महासंघको ४१औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले स्वदेशमै उपलब्ध वस्तु आयात गर्दा व्यवसायीलाई फाइदा भए पनि राष्ट्रलाई घाटा हुने भएकोले नाफा मात्रै नहेर्न आग्रह गरिन् ।
यस्तै उनले हस्तकला क्षेत्रको विकास विस्तार र निर्यात प्रवर्द्धनका लागि पहल गर्ने आश्वासन समेत दिइन् । महासंघले अघि सारेका माग सम्बोधन गर्न आफूले पहल गर्ने उनको थियो । महासंघले साधारणसभामार्फत सरकारसमक्ष विभिन्न १३ बुँदे माग प्रस्तुत गरेको छ । उसले कोरोनाबाट प्रभावित हस्तकलाको निर्यात प्रवर्द्धनका लागि हालको नगद प्रोत्साहन दर कम्तीमा पनि डवल डिजिट गर्नुपर्ने र नगद प्रोत्साहन प्राप्त गर्ने प्रक्रिया एवं कार्यविधि सरलीकृत गर्नुपर्ने माग गरेको छ । महासंघ अध्यक्ष सुुरेन्द्र भाइ शाक्यले १३ बु्ँदे माग प्रस्तुत गर्दै निर्यात हुने काष्ठजन्य हस्तकला सामान र सिपिङ कन्टेनर फुमिगेट गरी फुमिगेसन प्रमाणपत्र गरी गर्ने व्यवस्था हुनुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलगायत मालसामान आयात निर्यात हुने अन्य भन्सार कार्यालयलाई निर्यातमैत्री बनाइनुपर्ने, अन्तर्राष्टिय बजारमा नेपाली हस्तकलाको पहिचान स्थापित गरी प्रवर्द्धन गर्न हस्तकला वस्तुमा सामूहिक व्यापार चिह्नको विकास र प्रचारप्रसारमा सहयोग गर्नुपर्ने माग गरे ।
त्यस्तै सातवटै प्रदेशमा हस्तकलाग्राम स्थापनाका लागि विद्युत्, सडक र पानीलगायतका आवश्यक भौतिक पूर्वाधारको पहुँच भएको क्षेत्रमा जग्गा उपलब्ध गराउनुपर्ने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत बोर्ड अफ ट्रेड र भन्सार विभागअन्तर्गत निकासी सहजीकरण समितिमा महासंघको पनि प्रतिनिधित्व हुुनुपर्ने, चीनमा व्यापार, व्यवसाय र व्यापारमेला सहभागिताबाट आर्जित विदेशी मुद्रा बैंकिङ च्यानलबाट नेपाल ल्याउन पाउने व्यवस्था गरिनुपर्ने, सरकार तथा विदेस्थित नेपाली नपाली दूतावासलगायत सबै सरकारी निकायमा नेपाली हस्तकला प्रयोग गरिनुपर्ने, स्वदेशी वस्तु प्रवर्द्धनका लागि निजामती कर्मचारीहरुलाई स्वदेशी कपडाबाट बनेका पोशाकलाई अनिवार्य गरिनुपर्नेलगायत माग महासंघका रहेका छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरीबाबु महर्जनले हस्तकलाको विकास, विस्तार र प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर शाक्यले हस्तकलाको औद्योगिक ग्रामका लागि जग्गाको व्यवस्था गरेमा महानगरपालिकाले पूर्वाधार निर्माणमा सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि निर्यात व्यापारमा हस्तकलाको महत्वपूर्ण योगदान रहेको भन्दै हस्तकलाको प्रवर्द्धन सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट इन्द्र बहादुर शाक्य सम्मानित गरिएको थियो । यस्तै हस्तकलाका उत्कृष्ट निर्यातकर्ता, उद्यमी, महासंघका उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो । महासंघको ४१औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।