काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप सङ्कलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको दाबी बैंक स्वयमले गरेको छ ।
गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१ दशमलव ६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३० दशमलव ३५ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरूमध्ये १७ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर पाँच प्रतिशत रहेको छ ।
त्यसैगरी २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ । अहिले बाणिज्य बैंकहरूसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । फागुन महिनामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस अवधिमा १९ वटा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने ९० दशमलव शून्य तीन प्रतिशत रहेको छ । औसतमा बैंकहरूको कर्जा निक्षेप अनुपात ९० दशमलव ९९ प्रतिशत रहेको छ ।
नेपालभर दुई सय १३ वटा शाखाहरू, एक सय ४७ वटा एटीएम साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
दक्ष व्यवस्थापन, युवाकर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक लिमिटेडप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक ब्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकको बचत खाता एवं मुद्दती खाताहरूमा निक्षेपकर्ताहरूको आकर्षण बढिरहेको छ ।