काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा भौतिकरूपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावधिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई–केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा उपयोग गर्न, बैंकको वेबसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको लिंकमा गएर ग्राहकहरूले आफ्नो खाताको केवाईसी विवरणहरू विनाझन्झट अपडेट गर्न सक्नेछन् । आफ्नो केवाईसी फर्म अपडेट गर्नुअघि ग्राहकहरूले निश्चित भ्यालिडेसन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यो अनलाइन सेवाको प्रयोग गरी ग्राहकहरूले बैंकको शाखा जानुपर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोबाइल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसी अद्यावधिकको निवेदन दिन सक्नेछन् ।
डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको बैंकले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क सेवाको सुरुवात गरेको छ । कियोस्कमार्फत प्रारम्भिकरूपमा ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरू प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सकिने छ । साथसाथै यस बैंकका ग्राहकहरूको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन फोनमार्फत वा ई–मेल गरी प्राप्त गर्न सकिनेछ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइहरूबाट १३ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।