काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न संघ संस्थाहरूलाई सहयोग गर्दै आइरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत बैंकको बैतडी, पाटन शाखाले पाटन ४ स्थित भूमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त खेलकुदका सामग्रीहरू हस्तान्तरण गरिएको हो । यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरूलाई खेलप्रति थप हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले खेलकुदका सामग्रीहरू हस्तान्तरण गरिएको पाटनका शाखा प्रबन्धक विजय शाहले बताए । बैंकको यो सहयोगबाट विद्यार्थीहरू निकै उत्साहित भएको र खेलकुद विकासका लागि महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रति विद्यालयका प्रधानाध्यापक वीरेन्द्र बहादुर चन्दले धन्यवाद ज्ञापन गरे । बैंकले कोर बैंकिङमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।