काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार कागेश्वरी मनहरा नगरपालिका–२ गोकर्णेश्वर बस्ने ३६ वर्षीय नवराज धिमाललाई आइतबार पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनको २०७८ असोज १८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा नगद २० लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट पक्राउ गरेको हो । धिमालले प्राइम बैंक लिमिटेड बागबजारको आफ्नो नामको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएकोमा चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
यसैगरी महानगरीय अपराध महाशाखा मीनभवनले पनि जग्गा बैना गरी ४५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ । रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–४ बस्ने ललितपुर महानगरपालिका–३ घर भएका ४९ वर्षीय ध्रुव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका–१ दरबारमार्गबाट शुक्रबार साँझ पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ घर भएकी ४० वर्षीया महिलाले जग्गा खरिद गर्नको लागि खोजी गर्ने क्रममा घिमिरेले मालपोत कार्यालय भक्तपुरमा दर्ता स्रेस्ता रहेको भक्तपुर साबिक दुवाकोट गाविस–१ मा रहेको जग्गा २१ लाख रुपैयाँ दरले चार आना जग्गा नापजाँच गरी राजीनामा पास गरिदिने भनी विश्वास दिलाई विभिन्न बैंकको चेकबाट पटक–पटक गरी ४५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा घिमिरेले ठगी गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाको भनाइ छ ।