काठमाडौं । करिब १७ वर्षसम्म निजी एयरलाइन्स कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट सेवा सुविधा लिएबापतको रकम तिरेका छैनन् । यति मात्र नभई प्राधिकरणमार्फत सेवा सुविधा लिएबापतको बक्यौता रकम तिर्न पटक–पटक निर्देशन दिँदा पनि एयरलाइन्स कम्पनीहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
सुविधा उपभोग गरेबापत एयरलाइन्स कम्पनीहरुलाई रकम तिर्न योसम्म गरी तीनपटक सार्वजनिक सूचना प्रकाशित गर्दै निर्देशन दिए पनि त्यसलाई बेवास्ता गर्दै आएका छन् । यसअघि ११ वटा एयरलाइन्स कम्पनीहरुलाई बक्यौता रकम तिर्न निर्देशन दिएको प्राधिकरणले आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै छवटालाई निर्देशन दिएको छ । सञ्चालनमा नरहेका नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काईलाइन एयरवेज र एयर काष्ठमण्डपलाई प्राधिकरणले रकम तिर्न भनेको हो । यसअघि अल्पाइन एयर, कर्णाली एयर, सांग्रिला एयर र नेपाल एयरेवजलाई बक्यौता तिर्न आग्रह गरेको थियो ।
सातवटा एयरलाइन्स कम्पनीहरुले करिब आठ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । जसमध्ये सबैभन्दा बढी नेकोन एयरको चार करोड ७० लाख ६० हजार, कस्मिक एयरको तीन करोड ४७ लाख ५८ हजार, शिवानी एयरको ५५ लाख, गोरखा एयरको २० लाख ३५ हजार, स्काईलाइन एयरवेजको १५ लाख ५० हजार, एयर काष्ठमण्डपको सात लाख ३८ हजार, माउन्टेन एयरको एक लाख २७ हजार बक्यौता रकम रहेको छ । यसैबीच बक्यौता रकम उठाउन नसक्नुमा प्राधिकरणको कमजोरी रहेको प्राधिकरणका अधिकारीहरु स्वीकार गर्छन् । हाल प्राधिकरणको नेतृत्व अर्थात् महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीमाथि बक्यौता उठाउने जिम्मेवारी आएको छ ।
त्यस्तै, तीनपटक सार्वजनिक सूचनाहरु प्रकाशित गर्दा पनि उल्लिखित वायुसेवा कम्पनी तथा सञ्चालकहरुले बक्यौता रकम चुक्ता गरेको हुँदा यसरी प्राधिकरणले असुल गर्नुपर्ने रकम नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम सरकारी बाँकीसरह प्राधिकरणले असुलउपर गर्न पाउने अधिकार प्राधिकरणमा सुरक्षित रहेको साथै विमानस्थल सेवा शुल्क नियमावली २०७६ को नियम ३०(३) अनुसार प्राधिकरणलाई बुझाउनुपर्ने शुल्क नबुझाउने व्यक्ति तथा संस्थाहरुलाई भविष्यमा हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्ने अधिकार प्राधिकरणसँग रहेकोले सोहीअनुसार प्राधिकरणबाट कारबाही अगाडि बढाउने भएको हुँदा समयमै रकम तिर्न आग्रह गरेको छ । २०७६ असोज ७ गते, २०७७ माघ २६ र २०७८ भदौ १२ मा रकम तिर्न भन्दै उसले सूचना प्रकाशन गरेको थियो ।
उसले बक्यौता नतिर्ने एयरलाइन्स कम्पनीका सञ्चालकहरुको बैंक खाता रोक्का, राहदानी रोक्का तथा सञ्चालकको दुईपुस्ते नाम सार्वजनिक गर्दै रकम तिर्ने भनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७६ को नियम ३० को उपनियम (३) बमोजिम भविष्यमा हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राख्न तथा प्रचलित ऐनअनुसार सञ्चालक, निजका एकाघरका परिवार एवं जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकीसरह असुलउपर गरिने तथा कालोसूचीमा राख्ने अधिकार प्राधिकरणसँग रहेकोले सोहीअनुसार प्राधिकरणबाट कारबाही अगाडि बढाउने भएको हुँदा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र प्राधिकरणलाई बक्यौता तिर्न निर्देशन दिइएको छ ।
त्यस्तै, तोकिएको अवधिमा बक्यौता रकम नबुझाउने वायुसेवा कम्पनी र सञ्चालकहरुलाई विमानस्थल सेवा शुल्क नियमावली, २०७६ को नियम ३० (३) बमोजिम कारबाही गरी नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २७ बमोजिम प्राधिकरणले वायुसेवा कम्पनी र सञ्चालकहरु तथा निजका हकदारहरु समेतको बैंक खाता रोक्का गरी नेपाल बाहिर जान नपाउने गरी राहदानी रोक्काको कारबाही समेत गरी चल/अचल जायजेथाबाट सरकारी बाँकीसरह असुलउपर गरिने जनाएको छ । एयरलाइन्स कम्पनीहरुले प्राधिकरणसँग विमानस्थलको प्रयोग अर्थात् ल्यान्डिङ, पार्किङ र ‘एयर नेभिगेसन’ सेवा (एएनएसपी) र ‘एयरड्रोमा’का सुविधाहरु लिने गर्छन् भने सो सुविधा लिएबापत उनीहरुले सेवा शुल्क तिर्नुपर्ने हुन्छ । यो समेत गरी चौथो पटक रकम तिर्नको लागि निर्देशन दिइएको हो ।