काठमाडौं । तस्करीको ट्रान्जिट बन्दै गएको नेपालमा स्वरुप परिवर्तन गरी गरी तस्करी हुुने गरेको पाइएको छ र पछिल्लोपटक सामान्यतया पत्याउनै नसकिने किसिमले सुन तस्करी गरिएको पाइएको छ तर त्यसलाई पत्याउनैपर्छ कि त्यो भएकै हो ।
नेपाललाई ट्रान्जिट बनाएर सुपारी, केराउ, मरिच तस्करी गर्न सरकारले अनुमति नै दिएको छ र पाम आयलको अवस्था पनि त्यही नै रहेको छ । ती सामान तेस्रो मुलुकबाट नेपाल आउँछन् र त्यसको लागि नेपालको ढुकुटीबाट अमेरिकी डलर खर्च हुन्छ । अनि ती सामान भारतमा निकासी हुन्छन् । भारतमा बेचिएको सामानको रकम भारतमा नै राखिन्छ । नेपालमा भएको डलर पनि खर्च हुन्छ । डलर खर्चेर किनेको सामान भारतमा बेच्छ र त्यसको रकम पनि भारतीयमूलका व्यापारीहरुले भारतमा नै राख्छन् । अनि नेपालमा तरलताको अभाव हुन्छ । विभिन्न कारणमध्ये नेपालमा तरलताको अभाव हुनुुको यो पनि एउटा प्रमुख कारण हो ।
यति मात्र होइन नेपालमा चीन, यूएई, कतार, साउदी अरब, मलेसिया, सिंगापुर थाइल्यान्डलगायतका मुलुकहरुबाट सुनचाँदीको तस्करी हुुने गरेको छ । तीमध्ये केही समय सुन र चाँदी मिसाएर चाँदी भनेर नेपाल भित्र्याइएका छन् । तस्करहरुले खाडी क्षेत्रमा काम गर्न गएका कामदारहरुलाई काँचो सुनको वाला, ब्रासलेट, सिक्री, औँठी जस्ता गहना बनाएर भाडामा ती गहना लगाएर एयरपोर्टबाटै ती गहना छिराउने गरेका छन् । योबाहेक सुटकेसमा हालेर तस्करले ल्याएको सुनको सुटकेस प्रहरीले नै घिसारेर एयरपोर्टबाट बाहिर निकालेर तस्करलाई जिम्मा लगाएको पनि देखिएका छन् । कतिपय अवस्थामा तस्करले मलद्वार र योनीभित्र सुन लुकाएर ल्याएको पनि पाइएको छ । पछिल्लो पटक शुक्रबार ड्रोन क्यामराभित्र सुन फिट गरेर ल्याएको पाइएको छ । यसका अतिरिक्त चीन तर्फबाट कहिले स्याउको कार्टुनमा सुन भेटिएका छन् कहिले भेडाको उनको भारीमा सुनका मूर्ति भेटिएका छन् ।
तातोपानीको केरुङलगायतका उत्तरी नाकाबाट सरसामानभित्र सुन हालेर ल्याएको प्रशस्तै भेटिएका छन् । तस्करले त्यसरी सुन तस्करी गराउन दोहोरो कपाली तमसुक नै गरेर सुन ल्याउने गरेका छन् । चिनियाँ सीमासम्म चाइनिजहरुले ल्याउने र त्यहाँबाट चीनबाट सामान झिकाउने व्यापारी र खास गरी कन्टेनरवालाहरुले ल्याइदिने गर्दछन् । नेपालभित्र ल्याइसकेपछि भारतीयमूलका नेपालका नवनागरिकहरुले त्यसलाई भारत पु-याउने गरेको पाइएको छ । त्यसमा पनि मनाङको नाकाबाट त केही समय अघिसम्म तरल सुन तस्करीबाट आउने गरेको थियो । तर पछिल्लो समय पशुुलाई प्रयोग गरेर सुन तस्करी भएको पाइएको छ ।
गत माघको दोस्रो साता शंकाको आधारमा सुरक्षा निकायले काठमाडौं भित्रिँदै गर्दा बाटोमा १३ वटा खसी र ती खसी लिएर आएका व्यक्तिहरुलाई नियन्त्रणमा लियो र त्यसलगत्तै त्यस क्षेत्रका भन्सारका केही कर्मचारीहरुलाई अघोषित नियन्त्रणमा लिएर निगरानीमा राखेको थियो । त्यसलगत्तै ती खसीहरु काटियो । खसी काट्दा आशंका सत्य साबित भयो । ती पहाडे खसीका पेटमा सुनका डल्लाहरु भेटिए । एउटा खसीको पेटमा सरदर ३८ देखि ४२ वटा टुक्रासम्म सुन भेटिएका थिए । १३ वटा खसीको पेटबाट लगभग २८ करोड रुपैयाँ मूल्यका सुन बरामद भएको छ । त्यसपछि सुरक्षा निकायले त्यसको सिंगो नेटवर्कमाथि सूक्ष्म निगरानी गरिरहेको थाहा भएको छ ।
सुरक्षा निकायले यस्तो दुर्लभ र अत्यन्त रहस्यमय घटनालाई अहिलेसम्म गोप्य नै राख्नुको कारण पनि त्यसपछाडि ठूलो र शक्तिशाली व्यक्तिहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ । तस्करले सुनको डल्लालाई टुक्रा पारेर खोलेजस्तो चिप्लो पदार्थमा मिसाएर खसीलाई खुवाएर ल्याएको थाहा भएको छ ।
तस्करले चिनियाँ सीमाबाट सुन नेपाल भित्रिएपछि सुनलाई टुक्रा–टुक्रा पारेर त्यसरी खसीलाई खुवाएर खसी बेच्न ल्याएजसरी सुन तस्करी गरेको उक्त अनुसन्धानले देखाएको छ ।