काठमाडौं, माघ २८
नेपाल वायुसेवा निगमले फागुन १९ गतेदेखि जापानको नारितामा हप्ताको तीन दिन सिधा उडान सुरु गर्ने भएको छ । एयरबस वाइडबडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रबार हुनेछ । बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपराह्न ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ ।
हालका लागि प्रवर्द्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार रुपैयाँ र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसका साथै बिजनेस क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५/२५ के.जी.का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा ब्यागेजको सुविधा पाउनेछन् ।