काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आइतबार होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
विसं २०७४ मंसिर २८ गतेदेखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरेलगायत सञ्चालक सदस्यहरूमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मी रहेका छन् ।
सभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीकातर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवं स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै कम्पनीको नियमावलीअनुसार समूह ‘ख’का सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।
सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू समेत पारित गरेको छ ।
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा छ करोड १९ लाख १० हजार सात सय ८३ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले आठ करोड आठ लाख ४७ हजार ९६ रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको चालू आवको दोस्रो त्रैमासमा प्रतिसेयर आम्दानी छ रुपैयाँ १९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २२ रुपैयाँ ५९ पैसा रहेको छ ।