काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएका कुुल दुई सय २६ वटा कम्पनीहरुमध्ये ३६ वटा कम्पनीहरु मात्र ‘ए’ वर्गमा परेका छन् । समयमा नै वार्षिक साधारणसभा सम्पन्न गरेको, सेयरधनीहरुलाई लाभांश वितरण गरेको, निर्धारित समयमा नै वित्तीय विवरण सार्वजनिक गरेको, लगातार नाफामा रहेको आदि सूचकहरुको आधारमा नेप्सेले सूचीकृत कम्पनीहरुलाई वर्गीकरण गर्ने गरेको छ । ‘तर यसपालिको वर्गीकरणमा भने सूचीकृत कम्पनीहरुमध्ये ३६ वटा कम्पनीहरु मात्र ‘ए’ वर्गमा पर्न सफल भएका छन्’, नेप्सेले भनेको छ ।
यसरी ‘ए’ वर्गमा पर्न सफल भएका कम्पनीहरुमा २७ वटा वाणिज्य बैंकहरुमध्ये २५ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका १७ वटा विकास बैंकहरुमध्ये चारवटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनीहरुमध्ये दुईवटा फाइनान्स कम्पनी र ६७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये एउटा लघुवित्त वित्तीय संस्था रहेको छ । हाइड्रो पावरतर्फ भने अपी पावर लिमिटेड, अरुण भ्याली हाइड्रोपावर लिमिटेड र बुटवल पावर लिमिटेड ‘ए’ वर्गमा पर्न सफल भएका छन् । ‘बी’ वर्गमा भने दुईवटा फाइनान्स, चारवटा लघुवित्त वित्तीय संस्था दुईवटा हाइड्रोपावर कम्पनी र एउटा इन्भेष्टमेन्ट कम्पनी परेको छ ।
नेप्सेका अनुसार ‘जी’ वर्गमा भने सूचीकृत भएको दुई वर्ष नपुगेका कम्पनीहरुलाई राखिएको छ । यस समूहमा आठवटा लघुवित्त वित्तीय संस्था, पाँचवटा जीवन बीमा कम्पनीहरु, तीनवटा निर्जीवन बीमा कम्पनीहरु, १४ वटा हाइड्रोपावर कम्पनीहरु, होटल तथा पर्यटन समूहअन्तर्गत एउटा र लगानीअन्तर्गत चारवटा र पुनर्बीमातर्फ एउटा कम्पनी परेको छ । ‘जेड’ वर्गमा भने एनआईसी एसिया बैंक, १२ वटा विकास बैंक, १६ वटा फाइनान्स कम्पनी, ४० वटा लघुवित्त वित्तीय संस्थाहरु, सात वटा जीवन बीमा कम्पनीहरु, १५ वटा निर्जीवन बीमा कम्पनीहरु, २८ वटा हाइड्रोपावर कम्पनीहरु, एउटा नागरिक लगानी कोष, ट्रेडिङ समूहअन्तर्गत चारवटा कम्पनीहरु, उत्पादनमूलकअन्तर्गत १८ वटा कम्पनीहरु, होटल तथा पर्यटन समूहअन्तर्गत चारवटा होटलहरु र अन्य समूहअन्तर्गत दुईवटा कम्पनीहरु परेका छन् ।
नेप्सेमा हाल दुई सय २६ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँचवटा होटल, पाँचवटा लगानी कम्पनी, चारवटा व्यापारिक संस्था र तीनवटा अन्य समूहका रहेका छन् । २०७७ माघमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १६ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६५ दशमलव आठ प्रतिशत रहेको छ ।
त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १० दशमलव आठ प्रतिशत, लगानी कम्पनीको सात दशमलव चार प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव पाँच प्रतिशत, होटेलको हिस्सा एक दशमलव चार प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव चार प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा नौ दशमलव सात प्रतिशत रहेको छ । नेप्सेमा २०७८ माघसम्ममा सूचीकृत छ अर्ब ५६ करोड सेयरको चुक्ता मूल्य भने छ खर्ब ४६ अर्ब ८४ करोड पुगेको छ ।