काठमाडौं । उच्च आयातका कारण मुलुकको व्यापारघाटा ३४.५० प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुरुप चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.५० प्रतिशतले वृद्धि हुँदा अर्थात् दुई खर्ब ९७ अर्ब ७७ करोड
रुपैयाँले मुलुकको व्यापारघाटा बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुरुप चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.५० प्रतिशतले वृद्धि भई अर्थात् दुई खर्ब ९७ अर्ब ७७ करोड रुपैयाँले मुलुकको व्यापारघाटा बढेको छ ।
चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड र गत आर्थिक वर्षको सोही अवधिमा आठ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ मुलुकले व्यापारघाटा व्यहोरेको थियो । उच्च आयात र न्यून निर्यातका कारण मुलुकले अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापारघाटा व्यहोर्नुपरेको विभागका अधिकारीहरु बताउँछन् । यसैबीच निर्यात व्यापार भने वृद्धि हुँदै गएको उनीहरुको भनाइ छ ।
चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा निर्यात व्यापार ८२.९० प्रतिशतले वृद्धि हुँदा एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ हुनपुगेको छ । गत आर्थिक वर्षको उक्त अवधिमा ८० अर्ब ७७ करोड रुपैयाँको निर्यात व्यापार रहेको थियो । नेपालबाट प्रशोधित भटमासको तेल, प्रशोधित पाम तेल, जुटबाट बुनिएका कपडा, यार्न, कार्पेट (गलैँचा), पस्मिना, अलैँचीलगायतका सामग्री प्रमुखरुपमा निर्यात हुने गरेको छ ।
नेपालले भारत, चीनका साथै एसिया, युरोप, अमेरिका, अफ्रिकामा रहेका विभिन्न मुलुकबाट उच्च आयात गर्दा घाटा व्यहोर्नुपरेको छ । सोही कारणले गर्दा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा पनि आयात ३८.६४ प्रतिशतले वृद्धि हुँदा १३ खर्ब आठ अर्ब ७३ करोडको भएको छ । गत आर्थिक वर्षको उक्त अवधिमा आयात नौ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । नेपाली व्यवसायीहरुले उच्च रुपमा कच्चा पदार्थदेखि तयारी सामग्री विदेशबाट आयात गर्ने हुँदा आयात दर सदैव उच्च हुने गरेको छ । दैनिक भान्सामा प्रयोग हुने सामग्रीदेखि, पेट्रोलियम पदार्थ, मेसिनरी सामग्री, सुन चाँदीलगायतका सामग्री आयात हुने गरेको छ ।
त्यस्तै, चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.१३ प्रतिशतले वृद्धि भई १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कुल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७६ करोड रहेको थियो । यसैबीच आठ महिनाको अवधिमा नेपालले एक सय ५२ भन्दा बढी मुलुकसँग व्यापार गरेको छ भने त्यसमध्ये ९० प्रतिशतभन्दा बढी मुलुकसँगको व्यापारमा घाटा व्यहोरेको विभागको तथ्यांकले
देखाएको छ ।