काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो दुई सय ८९औँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । साबिकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गरी शाखाको रूपमा परिमार्जित गरिएको बैंकले जानकारी दिएको छ ।
सोमबार बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१४, बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधि ज्ञावलीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका छन् । यस्तै, एटीएम काउन्टरको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घाटन गरेका हुन् ।
बैंकका अध्यक्ष ढकालले, सबैका लागि बैंक भन्ने नाराका साथ ग्लोबल आईएमई बैंकले मुलुकका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रहरूमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ सेवा प्रदान गर्दै आएको र बागलुङको बलेवा नारायस्थान शाखाले त्यहाँका स्थानीय बासिन्दा, किसान तथा व्यवसायीहरूलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ शाखा स्थापना गरिएको बताए ।
ग्लोबल आईएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो वाणिज्य बैंक हो । यसले शाखाले सोही क्षेत्रका ग्राहकलाई छिटो, छरितो एवं सरल बैंकिङ सेवा दिने उद्देश्यले एटीएम सेवा समेत सुरु गरेको छ । यसका साथै, बैंकले मधेश प्रदेकको पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १५, बाइपास रोडमा पनि आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा दुई सय ८९ शाखा, दुई सय ५४ एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सय ६० भन्दा बढी सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।