काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्धाश्रम केन्द्र तथा अस्पताललगायतका संस्थाहरूलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत तीन संस्थाहरूलाई कुल नौ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको बैंकले जानकारी दिएको छ । आउँदै गरेको वैशाख ७ गते बैंकले १५औँ वार्षिकोत्सव मनाउँदै छ ।
यस अन्तर्गत बैंकले जाजरकोटको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, हुम्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगुको माहाकाली मोडल हाइ स्कुल तथा नेपाल राष्ट्रिय आधारभूत स्कुल बालमन्दिर प्रत्येकलाई ५० हजार रुपैयाँ साथै जुम्लाको जनता माध्यमिक विद्याललाई एक लाख रुपैयाँ साथै हुम्ला जिल्लाको लालिगुराँस मावि, कोट मावि तथा हिमज्योति मावि प्रत्येकलाई ३३ हजार तीन सय ३३ रुपैयाँ हस्तान्तरण गरेको छ । विद्यार्थीहरूको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकास हुनसकेमा मात्रै उनीहरू पूर्ण मानव बन्न सक्छन् भन्ने कुरालाई शिरोधार्य गर्दै बैंकले विद्यालयलाई शैक्षिक तथा भौतिकरूपमा सबल बनाउन आर्थिक सहयोग प्रदान गरेको छ । यस सहयोगबाट सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाति, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरूको मनोबल थप उच्च हुने विश्वास बैंकले लिएको छ ।
साथसाथै बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोसाइटी, कैलाश मानसरोवर चिल्ड्रेन अप हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । यो सहयोगले त्यहाँ रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा बेवारिसे, मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुनस्र्थापना, अनाथ तथा बेसहाराहरूको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्नेछ । यस सहयोगले गरिब र पिछडिएका परिवारका बच्चाहरूलाई निःशुल्क शिक्षा, खाना र आश्रय पनि उपलब्ध गराउन मदत गर्नेछ ।
साथै बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पार सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई ५० हजार रुपैयाँ हस्तानतरण गरेको छ । यो रकम त्यहाँ आवश्यक विभिन्न सरसामानहरू खरिद गर्नका लागि उपयोग हुनेछ । साथै निकट भविष्यमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने बैंकको योजना रहेको छ । नेपाल सरकारले अवलम्बन गरेको समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ ।