वीरगञ्ज, माघ २८
नेपालमै उच्च शिक्षा प्रदान गर्ने अभिप्रायले भिजन मिडिया इनकर्पोसन र एजुकेसन डटकमको संयुक्त आयोजनामा दुई दिने शैक्षिक मेला सुरु भएको छ । वीरगञ्जको नगरसभा गृहमा सुरु भएको स्टडी इन नेपाल एजुकेसन फेयरको उद्घाटन एजुकेसन डटकमका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेले गरे ।
शैक्षिक मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, वीरगञ्ज पब्लिक कलेज, ठाकुराम बहुमुखी क्याम्पसलगायतका २७ भन्दा बढी कलेजको स्टल राखिएको छ । उच्च शिक्षाका लागि विदेशमा जोनहरुको संख्या बढिरहेको बेलामा यस शैक्षिक मेलाले सो संख्यालाई कम गर्ने विश्वास आयोजकले लिएको छ ।
मेलाको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत गोलेले वीरगञ्ज र यस आसपासका विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा प्रदान गर्न सघाउ पुगोस् भन्ने सोचका साथ वीरगञ्जमा पनि शैक्षिक मेलाको आयोजना गरिएको बताए । सस्तो र सर्वसुलभ मूल्यमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि नेपालमै पनि राम्रा शैक्षिक संस्थाहरु छन् भन्ने कुरा पनि धेरैलाई जानकारी नभएको हुँदा यस मेलाले सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।
‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने नाराका साथ आयोजित शैक्षिक मेलाको पहिलो दिनमा १५ सयभन्दा बढी विद्यार्थीहरुले निःशुल्क परामर्श दिइएको मेलाका व्यवस्थापक नविन कार्कीले बताए । मेला मंगलबार सकिनेछ ।