युक्रेन । युक्रेनी राजधानी किभस्थित एक शपिङ सेन्टरमा रुसले गरेको बमबारीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । युक्रेनी सरकारी अधिकारीहरुले राजधानी किभ रहेको पोडिल्स्की जिल्लास्थित शपिङ सेन्टरमा रुसले बमबारी गरेको बताएका छन् ।
यससम्बन्धी भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसले बमबारीको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए । भिडिओमा बमबारीपछि ठूलो आगाको राप्को दन्किएको देख्न सकिन्छ । सोसँगै ठूलो विस्फोट भएको थियो ।
बमबारीले शपिङ सेन्टर नजिकैको भवनमा समेत क्षति पुगेको थियो भने शपिङ सेन्टर पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । भग्नावशेषमा धेरै मानिस अड्किएका बताइएको छ । उनीहरुको उद्धारको लागि प्रयास भइरहेको छ । १० तले शपिङ स्टोरमा रुसी सेनाले बमबारी गरेका हुन् । आक्रमणको घण्टौँसम्म पनि उक्त भवनमा आगोको राप्को रोकिएको थिएन ।