काठमाडौं । विदेशमा उत्पादित औषधि नेपाल आयात गर्ने अनुमतिका लागि निवेदन दिएका प्रत्येक कम्पनीसँग औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बार्गेनिङ गर्ने गरेका छन् ।
नेपालमा दुई सय ४० वटा कम्पनीेले औषधि आयातको लागि अनुमति माग्दै विभागमा निवेदन दिएका छन् । ती प्रत्येक कम्पनीका मालिकसँग महानिर्देशक भट्टराईले ठूलो रकम माग्दै रकम नदिएसम्म काम रोक्ने गरेका छन् । महानिर्देशक भट्टराईलाई भेटघाटको व्यवस्थापन भने विभागकै वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले गर्ने गरेका छन् ।
यसअघि महानिर्देशक भट्टराईले यिनै केसीलाई पठाएर औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीको औषधि कारखानाको जीएमपी अडिट गरी सर्टिफाई गरेका थिए ।
त्यसअघि महानिर्देशक नारायण ढकालको पालामा राजेश श्रेष्ठ लगायतको त्यहाँ पठाउने निर्णय गरेको थियो तर ढकालको सरुवा भएपछि श्रेष्ठलाई रोकेर महानिर्देशक भट्टराईले आफैँ कस्तुरी फर्माको लगानीकर्ता समेत रहेका विभागका वरिष्ठ औषधि व्यवस्थापक केसीलाई महासचिव अधिकारीको नाममा चितवनमा रहेको औषधि कारखानाको गुड म्यानुफ्याक्चर प्राटिक्स (जीएमपी) अडिट गर्न खटाइएको थियो ।
केसीलाई नपठाइएको भए अधिकारीको काराखानाले जीएमपी सर्टिफिकेट पाउने अवस्था थिएन । कम्पनीलाई चाहिने पूर्वाधार नभएकाले उनको कम्पनीको जीएमपी अडिट हुनसकेको थिएन । महानिर्देशक भट्टराईले यसरी नियमविपरीत उनको औषधि उत्पादक कम्पनीलाई जीएमपी सर्टिफिकेटको प्रमाणपत्र दिएका थिए । अरु सबै कर्मचारीलाई सरुवा गरेपछि यिनै केसीलाई च्यापेर महानिर्देशक भट्टराईले मनमौजी हिसाबले काम गर्न थालेका हुन् र विदेशी औषधि आयात गर्न निवेदन दिएका २४० वटा कम्पनीहरुमध्ये ४० वटालाई मात्र सर्टलिस्टिङ गरिएको छ ।
सर्टलिस्टिङ गर्नुअघि ती कम्पनीका नेपाली एजेन्टहरुसँग केसीले महानिर्देशक भट्टराईसँग एक्लाएक्लै भेटवार्ताको चाँजोपाँजो मिलाउने गरेका हुन् । तेस्रो मुलुकका औषधिका लागि जीएमपी चाहिँदैन तर एसियन मुलुकका औषधि उत्पादक कम्पनीका लागि नेपालमा औषधि बिक्री गर्न जीएमपी अडिट हुनुपर्छ र त्यसका लागि उत्पादक कम्पनीले नै विभाग टोली लैजाने गर्दछन् ।
गुणस्तरहीन भारतीय लाइफ सेभिङ ड्रग्सका आयातकर्ता पार्थ फर्माका सचिन खण्डेवालसँगको चोचोमोचोलगायतका यावत् आर्थिक अनियमितताको प्रकरणको शृखलाबद्ध खुलासाका बाबजुद पनि महानिर्देशक भट्टराईले यसअघि पनि विभागका निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका पान बहादुर क्षेत्रीको कार्यकालमा गुणस्तरीय औषधिका लागि कार्वोपेनम औषधि उत्पादनका लागि डेटिकेटेड फ्यासिलिटी नभएको कम्पनीलाई औषधि उत्पादन र आयात अनुमति नदिने सवालमा कार्यविधि बनेको थियो र उक्त कार्यविधिको कार्यान्वयन क्रमशः हुँदै गर्दा सञ्जीवनी प्यारन्टल भारत, एरिष्टो फर्मा स्विटिकल्स भारत र एलिकेम फर्मा स्विटिकल्स लगायतका १५ वटा कम्पनीले अनुमति प्राप्त गर्न नसकेको अवस्था विद्यमान थियो ।
तर पछि विभागमा महानिर्देशकको हैसियतमा यिनै भट्टराईको आगमनसँगै मौजुदा कार्यविधिविपरीत करोडौँको चलखेलपछि ती १५ मध्ये नेपालका लागि ब्राइट फर्चुन प्रालि, राजेश मेडिट्रेड प्रालि, आदित्य इन्टरनेशनल र पार्थ फर्मालगायतका एक दर्जन कम्पनीका सञ्चालक खण्डेवालको आयात अनुमति नवीकरणको क्रममा बाँकी सबै कम्पनीलाई छोडेर पुरस्कृत गरिएको स्रोतले जनाएको छ ।
यद्यपि विभागमा फेरि महानिर्देशक भट्टराईको बहिर्गमन र अर्का महानिर्देशक ढकालको आगमनसँगै मौजुदा कार्यविधिअनुरुपका काम कारबाहीलाई निमयसंगत रुपमा अगाडि बढाउने क्रममा पार्थ फर्माका सञ्चालक खण्डेवालको अनुमतिपत्र नवीकरणमा रोक लाग्नु अलावा कारबाहीे क्रमको सुरुवात भएकोे हो ।
त्यस्तै पछि पुनः महानिर्देशक ढकाल मन्त्रालयल तानिएसँगै विभागमा दोस्रोपल्ट महानिर्देशकको जिम्मेवारी पाएका भट्टराईले विगतमा आफूले पुरस्कृत गरेका खण्डेवाललाई पुनः सेफ ल्यान्डिङ गराउन करोडौँको आर्थिक चलखेलसहित अनेक परिपञ्च गर्दै आएको हो । यस विषयमा महानिर्देशक भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परिसकेको छ ।
महानिर्देशक भट्टराईले पछिल्लो समय कम्पनीको जीएमपी अडिटका लागि विभागमा आवेदन दर्ता भएका दुई सय १५ औषधि आयातकर्ताको नयाँ कम्पनीमध्ये ४० वटा नयाँ कम्पनीको जीएमपी अडिटको लागि सचिवस्तरीय निर्णयसहित वर्कआउट सुरु गरेको विभागीय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कम्पनीको जीएमपी अडिटका लागि महानिर्देशक भट्टराईले पछिल्लो समय ती ४० वटा विभिन्न कम्पनीको नेपालका लागि आयातकर्ता रहेका औषधिका आयात व्यवसायीहरु क्रमशः, सचिन खण्डेवाल, रामानन्द दास, निरज स्वामी, विष्णु बजगाईं, उत्तम ढुंगाना, आनन्द चौधरी, पवन आचार्य, अभय श्रीवास्तव, सिजन भट्टराई, सुशील दाहाल, शितोष शाह, सुशान्त मुरारका, दिपक टिप्तीवाल, अञ्जन पुडासैनीलगायतका औषधि व्यवसायीसँग वन टु वन वार्ताको क्रमलाई निरन्तरता दिँदै आफूले भनेमुताबिक आर्थिक मोलमोलाइ मिलेका कम्पनीमा अडिट टोलीको फर्मान जारीको चाँजोपाँजो मिलाउँदै आएको थाहा भएको छ ।