काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ को चौथो संशोधन प्रस्तुत गर्दै लघु, घरेलु तथा साना उद्यमीहरुले सात प्रतिशतसम्ममा ब्याजमा पुनर्कर्जा सुविधा पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । मंगलबार सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा सूचना जारी गर्दै राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी संशोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
संशोधित व्यवस्थाअनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको लागि नेपाल राष्ट्र बैंकले लिने ब्याजदर चार प्रतिशत तोकिएको छ । यसरी चार प्रतिशतमा लिएको कर्जालार्ई सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग सात प्रतिशतसम्म ब्याज लिन पाउनेछन् । विशेष पुनर्कर्जाअन्तर्गत भने राष्ट्र बैंकले लिने ब्याजदर दुई प्रतिशत तोकिएको छ । यसरी राष्ट्र बैंकबाट दुई प्रतिशत ब्याजमा लिएको पुनर्कर्जालाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुलाई न्यूनतम पाँच प्रतिशतसम्म ब्याज लिएर पुनर्कर्जा दिन सक्नेछन् । साधारण पुनर्कर्जाको हकमा भने राष्ट्र बैंकले लिने ब्याजदर पाँच प्रतिशत र बैंक तथा फाइनान्स कम्पनीहरुले ग्राहकसँग लिने ब्याजदर सात प्रतिशत तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार पुनर्कर्जाको स्रोतको रुपमा कृषि तथा उद्योग क्षेत्रको विकासको लागि छुट्याइएको विकास कोष’ लगायत यस कार्यविधिको बुँदा नं. ४ अनुसारका अन्य स्रोतबाट प्राप्त रकमलाई पुनर्कर्जाको जोखिम व्यहोर्ने कोषको रुपमा उपयोग गरिएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप स्रोत आवश्यक पर्ने भएकोले पुनर्कर्जा प्रयोजनको लागि प्राप्त हुने कुल स्रोत रकमको अधिकतम चार दशमलव १२ गुणासम्म अर्थात् दुई खर्ब १२ अर्ब ८८ करोड ननाघ्ने गरी, बैंकले पुनर्कर्जा प्रदान गर्नसक्ने गरी सीमा तोकिएको संशोधित व्यवस्थामा उल्लेख छ । कोभिड–१९ को असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध स्रोतको आधारमा पुनर्कर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

पुनर्कर्जाको जोखिम व्यहोर्ने कोषको रुपमा भने बैंकमा विद्यमान रहेको विकास कोषको रकम, सञ्चालक समितिले तोकेका बैंकका अन्य कोषको रकम, दातृनिकायबाट प्राप्त भई नेपाल सरकारबाट स्वीकृति प्रदान भएका रकम र नेपाल सरकारले प्रदान गरेको रकम समावेश हुनेछ । पुनर्कर्जालाई लघु घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जामा वर्गीकरण गरिएको छ । जसअनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा मानिनेछ । यसैगरी विशेष पुनर्कर्जाअन्तर्गत बैंकले समय–समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिने संशोधित व्यवस्थामा उल्लेख छ ।
यो व्यवस्थाअनुसार हाल कायम रहेको निर्यात, महिला उद्यमी, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न, दश मेगावाटभन्दा साना जलविद्युत् आयोजनाहरु, ब्रोडब्यान्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेट पहुँच पु-याउने गरी दुर्गम स्थानहरुमा सेवा पु-याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक र सञ्चार सेवाप्रदायक संस्थाहरु तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको पुनर्कर्जाहरू पर्ने संशोधित व्यवस्थामा उल्लेख छ । साधारण पुनर्कर्जाअन्तर्गत भने माथिको दुवै वर्गीकरणमा नपरेका र बैंकले समय–समयमा तोकेको सबै पुनर्कर्जाहरूलाई साधारण पुनर्कर्जा मानिनेछ ।
एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुने र यस्तो कर्जा नवीकरण हुनेछैन । ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अतिप्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई र निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ । नेपाल राष्ट्र बैंक ऐन,२०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनर्कर्जा नवीकरण गर्नसक्ने संशोधित व्यवस्थामा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुनेछैन । बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिग्राहक ऋणी ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने उल्लेख छ ।
यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने केन्द्रीय बैंकले जनाएको छ । बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुनेछैन । राष्ट्र बैंकका अनुसार प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा र पाँच करोड रुपैयाँसम्मका विशेष कर्जा लिन सक्नेछन् ।