काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा पछिल्ला समयमा उच्च प्रतिस्पर्धा हुने गरेको छ । लोक सेवा आयोगकै हाराहारीमा प्रतिस्पर्धाको स्तर शिक्षक सेवा आयोगको पनि पुगेको आभास हुन्छ । उम्मेदवारहरूको बीचमा हुने कडा प्रतिस्र्धामा छनोट हुनको लागि परीक्षासम्बन्धी पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने हुन्छ नै । लामो समय विज्ञापनको सर्तभित्र पर्ने अस्थायीरूपमा कार्यरत शिक्षकहरू तथा नयाँ फ्रेस परीक्षार्थीहरू दुवै खाले उम्मेदवारले परीक्षा दिन पाउने भएकोले प्रतिस्पर्धा कडा हुने निश्चित छ । प्रतिस्पर्धामा खरो उत्रिएर सफल भई अब्बल साबित हुन आफ्नो अध्ययनलाई सार्थक बनाउन तथा परीक्षाको सामना सहज गर्न विभिन्न उपायहरू अवलम्बन गरिनु बुद्धिमानी हुन्छ ।
लामो प्रतीक्षापछि खुलेको यस प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नहरूको आकर्षक र मौलिक ठोस उत्तर दिन सक्ने कौशलताले अहम् भूमिका खेलेको हुन्छ । यस्ता परीक्षामा सफलता हासिल गर्न थ्री सी (कन्टेन्ट, कन्टेक्स र कम्युनिकेसन)को उचित अध्ययन, अनुसरण र समायोजन गर्नेतर्फ विशेष ध्यान दिनु फलदायी रहन्छ । परीक्षाका पाठ्यक्रममा दिएका विषयवस्तुको बहुआयमिक गहन अध्ययन हुनु जरुरी रहन्छ । विषयस्तुको अध्ययनबाट प्राप्त ज्ञानलाई प्रश्नले खोजेको वस्तुपरक जवाफ समसामयिक परिवेशलाई ध्यान दिँदै सहज र सरल भाषामा सटिक मौलिक उत्तर प्रस्तुत गर्नु बुद्धिमानी ठहर्छ । परम्परागत प्रश्नको सोझो उत्तरभन्दा पनि इनोभेटिभ खालको तर्कपूर्ण मौलिक उत्तरहरू अधिक अङ्क प्राप्त गर्न लायक हुन्छन् ।
परीक्षाको तयारी क्रममा विभिन्न उपायहरू अपनाएर घनीभूत अध्ययन गर्नुको साथै परीक्षाका क्लुहरूको जानकारी राख्नु बुद्धिमानी ठहर्छ । परीक्षाको तयारीका लागि स्रोत सामग्रीको रूपमा पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरू, विशिष्टीकरण तालिकालाई विशेष आधार मान्न बिर्सनु हुन्न । विशिष्टीकरण तालिकामा प्रत्येक विषयको एकाइ, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णाङ्क तथा प्रत्येक प्रश्नको अङ्कभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ । पाठ्यक्रम, विशिष्टीकरण तालिका, नमूना प्रश्नपत्रलगायतका उपयोगी अन्य सूचनाहरूको जानकारी शिक्षक सेवा आयोगको वेबसाइट धधध।तकअ।नयख।लउ बाट पनि प्राप्त गर्न सकिनछ ।
सामग्री सङ्कलन र अध्ययन विधि
- आयोगबाट प्रकाशित पाठ्यक्रम, बुलेटिनहरू र पुराना प्रश्नपत्रहरू,
- पाठ्यक्रममा समावेश भएअनुसारका प्रत्येक एकाइ वा शीर्षकअनुसारका अध्ययन सामग्री सङ्कलन गर्ने, अध्ययन सामग्रीहरू पहिलो स्रोत बाट सङ्कलन गर्ने,
- पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित तह र परीक्षा दिने विषयअनुसारका पाठ्यपुस्तक, पाठ्यक्रम तथा शिक्षक निर्देशिका सम्बन्धित अन्य प्रकाशनहरू सङ्कलन गर्ने,
- बजारमा पाइने सन्दर्भ सामग्रीहरू जम्मा गर्ने, परीक्षासँग सम्बन्धित सूचनाहरू विभिन्न पत्रपत्रिकाबाट सङ्कलन गर्ने,
- सङ्कलित सामग्रीहरूको अध्ययन पाठ्यक्रमलाई अगाडि राखेर विषयगत एकाइगत बुँदागतरूपमा क्रमिकरूपमा सान्दर्भिक धारणा, विषय, विचारहरूको टिपोट बनाउने,
- भाषागतभन्दा पनि आवश्यक सूचनाहरूलाई महत्व दिई अध्ययनका साथै नोट बनाउने,
- धेरै सूचना प्राप्त गर्नेगरी छरितो अध्ययन गर्ने, पुस्तक वा अध्ययनका क्रममा महत्वपूर्ण शब्द र वाक्यमा हाइलाइट गर्ने,
- कण्ठ गर्नुपर्ने सूचना र तथ्याङ्कको हकमा अर्थपूर्ण संक्षिप्त शब्द वा वाक्य बनाइ अध्ययन गर्दा सम्झन सजिलो हुन्छ,
- महत्वपूर्ण विषयवस्तुहरू कक्षामा पढाएको वा अन्य स्रोतबाट मोबाइल आदिमा रेकर्ड वा कपि गरेर हिँड्दा वा अन्य फुर्सदको समयमा हेर्ने सुन्ने,
- द्विविधा लाग्ने विषयवस्तुको बारे प्राथमिकताको साथ स्पष्ट हुने, सम्भव भएसम्म विषय मिल्दो साथीहरूसँग समूह मिलाई अध्ययन गर्ने,
- एक दिनमा के–के कति घन्टा पढ्ने, अप्ठ्यारोलाई विषयलाई पहिलो प्राथमिकता क्रममा राखी सोहीअनुसार समय छुट्याउने,
- एक दिनमा पढ्ने विषयको सीमा निर्धारणका साथै स्टडी क्वयसन बनाएर अध्ययन गर्नेगरेमा अन्त्यमा उपलब्धि हासिल भए नभएको एकिन गर्न सहज हुन्छ ।
- प्रत्येक आधा घन्टामा ५/१० मिनेट जति आराम गनिु राम्रो हुन्छ,
- अनिदो हुनेगरी राति लामो समयसम्म अध्ययन नगर्ने,
लेखन अभ्यास
- पुराना र सम्भाव्य प्रश्नहरूको तोकिएकै समयमा हल गर्ने अभ्यास निरन्तर गर्नुपर्छ ।
- प्रश्नको हल गर्दा अङ्कभारअनुसार समय विभाजन गर्न बिर्सिनु हुन्न ।
- आफूले लेखेको उत्तर आफैँले पनि हेर्ने र अग्रज वा विज्ञलाई देखाएर सुझाव लिने ।
- प्राप्त सुझावलाई मनन गर्दै पुनः सन्तुष्ट हुनेगरी लेख्ने ।
- उत्तर लेख्दा आकर्षक मुख्य वाक्यबाट सुरु गर्नु पर्दछ ।
- उत्तर लेख्दा जानेको सबैभन्दा पनि प्रश्नले मागेअनुसार सटिक, संक्षिप्त र मौलिक हुनुपर्दछ ।
- उत्तरको प्रस्तुतिमा विविधता ल्याएर आकर्षक बनाउन बुँदागत, तालिका, ग्राफ, छोटोछोटो वाक्यमा प्रस्तुत गर्ने ।
- एकबाट अर्को प्रश्न लेख्दा ३/४ लाइनको ठाउँ छोडेर लेख्दा आकर्षक हुन्छ, यसबाट कतिपय अवस्थामा पछि उत्तर थप्न पनि सहज हुन्छ ।
- सामान्य सजिला प्रश्नहरू सबैले हल गर्ने भएकोले कतिपय प्रश्नहरू जटिल हुन्छन् । यस्ता निर्णायक प्रश्नहरूको जवाफ विशेष होस् पु-याएर लेख्नुपर्दछ,
- सफा, क्रमिकता, सरलता मौलिकता, विविधता आदिले उत्तरलाई विशेष आकर्षण बढाउँछ,
बहुवैकल्पिक प्रश्नका उत्तर दिँदा ध्यान दिनुपर्ने
शिक्षक सेवा आयोग परीक्षाको तयारी तथा सोधिने विषयगत तथा बहुवैकल्पिक प्रश्नहरूको उत्तर कसरी दिने भन्नेबारेमा केही टिप्सहरू यहाँ प्रस्तुत गरिएको छ ।
- पाठ्यक्रममा तोकेका विषयवस्तुहरूको विस्तृत अध्ययन गर्न यथासम्भव धेरै स्रोत सामग्रीहरू जुटाउने प्रयास गर्नुपर्दछ ।
- प्रिन्टेड सामग्री नपाए पनि अहिले प्राय सबै संघसंस्थाले आ–आफ्नो वेबसाइटमा सूचना प्रवाह गर्ने हुनाले खोज्नुपर्छ, यसबाट पछिल्लो ताजा सूचनाहरूको जानकारी एकै स्थानमा बसेर लिन सकिन्छ ।
- परीक्षाको आसपासमा मात्र नभएर नियमितरूपमा विषयगत कार्यतालिका बनाएर विस्तृत र गहन अध्ययन गर्ने ।
- आधारभूत कुराहरू थाहा पाउने गरी सम्बन्धित विषयको परिभाषा र यसको अर्थ समेतको गहन अध्ययन गर्ने, परिभाषामा प्रयोग भएका शब्दहरूको बारेमा पनि विस्तृत जानकारी राख्ने ।
- विगतमा सोधिएका प्रश्नहरू तथा नमूना प्रश्नहरूको पर्याप्त अध्ययन तथा हल गर्नले अभ्यस्त मात्र नबाएर आत्मबल पनि बढाउँछ ।
- कुनै शब्द वा टर्मिनोलोजीको बारेमा यकिन नभएमा शब्दकोष वा अन्य सम्बन्धित स्रोत सामग्री अध्ययन गर्ने ।
- विषयअनुसारको मुख्य अवधारणालाई विभिन्न स्रोत सामग्रीबाट खोजेर पढ्नाले स्पष्ट भारणा बनाउन सकिन्छ ।
- सामान्यरूपमा सम्झनेभन्दा पनि विस्तृत जानकारी राख्ने गरी अध्ययन गर्नाले दिगो सिकाइ हुन्छ ।
- आफूभन्दा राम्रो तयारी गरेको साथीसँग छलफल गरेर पढ्नाले कतिपय कुराहरू स्पष्ट र स्थायी हुन्छन् ।
- परीक्षादेखि आँत्तिने हतारिनेभन्दा पनि सहज सामना गर्ने मानसिकता बनाउनु पर्दछ ।
- शारीरिक, मानसिक, खानपान, आहारविहार सन्तुलित र सहज हुनुपर्छ ।
- डर, त्रास तथा अनिँदो बस्ने, तनाव लिनेलगायत नकारात्मक प्रवृतिबाट टाढै रहनुपर्छ ।
- कुन विषय र क्षेत्रमा आफ्नो राम्रो दखल र कुनमा कमजोर छु भन्ने जानकारीको आधारमा अध्ययनको समय र सामग्रीको चयन गरिनु बुद्धिमानी ठहर्छ ।
- परीक्षाकेन्द्र नौलो भए जाँचभन्दा अगाडिकै दिनहरूमा एक पटक अवलोकन गर्नु राम्रो हुन्छ ।
- परीक्षाहलमा समयमा नै प्रवेश गर्ने तथा लुगा आदि ड्रेसअप पनि सहज र साधारण हुनुपर्दछ ।
- उत्तरपुस्तिका, प्रवेशपत्र तथा प्रश्नपत्रमा उल्लिखित सुझाव र प्रश्नहरूलाई राम्रोसँग पढ्न अल्छी गर्नु हुन्न ।
- प्रश्नपत्रमा लेख्नुपर्ने रोल नम्बर नामलगायतका माग भएका आवश्यक विवरण प्रश्नको उत्तर लेख्नुअगाडि नै भर्ने, सम्भव भएमा घन्टी बझ्नुभन्दा अगाडि ।
- प्रश्नपत्र हात परेपछि विषयगत प्रश्नहरूले मागेको उत्तर एकिन गरेपछि आफूलाई धेरै आउने उत्तरका आधारमा प्राथमिकीकरण गर्दै समयको पावन्दीलाई ध्यानमा राखेर सटिक मौलिक उत्तर लेख्नुपर्छ ।
- आयोगको परीक्षा प्रतिस्पर्धात्मक हुने भएकोले साथीलाई उत्तर भन्ने वा देखाउने काम आत्मघाती हुन सक्छ ।
- बहुवैकल्पिक प्रश्नका उत्तर पनि आफ्नै अगाडि हुने भएकाले सही उत्तरमा चिह्न लगाउँदा धैर्यतापूर्वक निष्कर्षमा पुग्नु पर्दछ ।
- बहुवैकल्पिक प्रश्नहरूको उत्तरमा चिह्न लगाउँदा निर्देशनअनुसार अर्को उत्तर तालिकामा सही उत्तरको अक्षर ।
- सम्भावित आफूलाई कम्फयुज लागेको उत्तरमा हतार गरेर एकै पटक स्थायी चिह्न नलगाउने, सानो संकेत राखेर अरु सही उत्तरको बारेमा सोचेर एकिन गर्ने ।
- माथिका सबै भन्ने उत्तरहरू प्राय सही हुन सक्छन् ।
- माथिका कुनै पनि होइन भन्ने उत्तरहरू प्राय गलत हुन सक्छन् ।
- दोहोरो नकारात्मक प्रश्नहरूले झुक्याउने भएकोले सचेत हुने ।
- लामो प्रकृतिका उत्तरहरू प्राय सही हुन्छन् ।
- समयको व्यवस्थापन राम्रोसँग गर्ने यदि कुनै प्रश्नको उत्तर १ मिनेटमा दिन नसक्ने भए छोडेर पछि हल गर्ने ।
- प्रश्नहरू हल गरिसकेपछि थोरै समय पुनरावलोकनका लागि पनि छुट्याउन बिर्सनु हुँदैन ।
- कतिपय प्रश्नका उत्तरहरू त्यही प्रश्नपत्रको अन्य प्रश्न वा उत्तरसँग पनि मिलेको हुन सक्छन्, चनाखो हुने ।
- यदि आफूलाई उत्तर यकिन भएन र गलत उत्तरमा चिह्न लगाएबापत पेनाल्टीको प्रावधान नभएमा अन्दाजको भरमा पनि चिह्न लगाउने र कुनै पनि प्रश्न नछोड्ने ।
- एक पटक चिह्न लगाइसकेपछि त्यही प्रश्नको उत्तरमा फेरि केरमेट गरेर अर्को चिह्न लगाउनुको कुनै अर्थ छैन ।
- परीक्षा सकेर बाहिर निस्केपछि भएका कमजोरीहरूलाई भविष्यमा अन्य परीक्षाको तयारीको लागि काम लाग्ने हेतु समीक्षा गर्नु बुद्धिमानी ठहर्छ ।