काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत सदस्य संघका पदाधिकारीहरूले समग्र निजीका समस्या समाधानमा सहयोग गर्न महासंघलाई आग्रह गरेका छन् । महासंघको वस्तुगत परिषद्ले सदस्य संस्थाका नवनिर्वाचित कार्यसमितिको सम्मानमा आयोजना गरेको कार्यक्रममा सहभागी संघका अध्यक्षहरूले उद्योगी व्यवसायीको समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघसँग आग्रह गरेका हुन् ।
कार्यक्रममा नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम बहादुर पोखरेलले ‘वस्तु विकास गरौँ र निर्यात बढाऔँ’ भन्ने कुरालाई एक अभियानका रुपमा अगाडि लैजान एक्लै नसकिने भएकोले यसमा महासंघको साथ खोजेको बताएका थिए । कच्चा पदार्थमा लाग्ने भन्सार महशुल, चर्को बैंक ब्याजदर, ट्रान्जिटका लागि पाउने सुविधाहरूलगायतका विषयहरूमा पनि महासंघले पहल गरिदिनुपर्ने उनको भनाइ थियो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्ना हक, हितको संरक्षण एवं समस्याहरूको समाधान गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले महासंघको साथ जरुरी रहेको बताए । हाल निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई सम्बोधन गर्न सरकारसँग अनुरोध गरिएको र यसमा महासंघको पहलको आवश्यकता रहेको उनको भनाइ थियो । साना उद्योगी व्यवसायीको हितका लागि सामूहिक ऐक्यबद्धता आवश्यक रहेको उनले बताए ।
नेपाल बोटल वाटर उद्योग संघका महासचिव गोकुल थापाले उद्योग सञ्चालन गरेबापत फौजदारी अभियोगमा मुद्दा खेप्नुपरेको भन्दै उक्त समस्या समाधानमा महासंघले पहल गर्नुपर्ने बताए । हाल राष्ट्रिय सभामा रहेको खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विधेयक जस्ताको तस्तै पारित भए मुलुकभित्र खाद्यसम्बन्धी कुनै पनि उद्योग व्यवसाय गर्न नसकिने अवस्था आउने उनको भनाइ थियो । महिला उद्यमी महासंघ नेपालका अध्यक्ष निरु रायमाझी खत्रीले नीतिगत व्यवस्था, वित्तीय पहुँच, बजार प्रवर्द्धन, क्षमता अभिवृद्धिलगायतका विषयहरूमा सरकारसँग पहल गर्न महासंघको सहयोग आवश्यक रहेको बताइन् । नेपाल विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले विप्रेषण भित्र्याउन निजी क्षेत्रको ठूला भूमिका रहेकाले यसलाई सबल बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । सरकारले दिने सानो सेवा सुविधा पनि यो क्षेत्रका लागि ठूलो अवसर हुने भएकाले महासंघसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले दैनिक १०/१२ करोडको कारोबार हुने रेष्टुरेन्ट एण्ड बार व्यवसायलाई सरकारले उद्योगको मान्यता नदिएकोमा दुःखेसो पोखे । कतिपय समयमा सरकारको कमजोर नीतिगत निर्णयका कारण श्रमिक र रोजगारदाताबीचको सम्बन्धमा यदाकदा समस्या आउने गरेको बताए । सदस्यहरूका समस्यालाई समयमै सम्बोधन गर्न पनि उनले महासंघलाई आग्रह गरे । नेपाल पशुपक्षी औषधि व्यवसायी संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाले पशुपक्षीको औषधि व्यवसायमा आबद्ध उद्यमी व्यवसायीहरू समस्यै समस्याको भुमरीमा फसेको अनुभूति भएकाले महासंघको ठूलो साथ र सहयोगको खाँचो रहेको बताए । सरकारका सम्बन्धित निकायहरू बीच सहकार्य एवं सामञ्जस्यता नहुँदा निजी क्षेत्र मर्कामा परेको उनको भनाइ थियो । पशुपक्षीको सुरक्षाका औषधिहरूमा लाग्ने कर छुट हुनुपर्ने, औषधि ऐन २०३५ को तत्काल खारेज गरी नयाँ ऐन ल्याउनुपर्नेमा पनि उनले जोड दिए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सदस्यहरूका समस्या समाधान र नीतिगत सुुधारमा महासंघ सधैँ सदस्यहरूसँगै रहेको बताए । अनपेक्षितरूपमा ब्याज दर वृद्धि भइरहेकाले उद्योगी व्यवसायीहरूमा मर्का परेको उनको भनाइ थियो । विद्यमान तरलता र ब्याजदर वृद्धिको समस्यामा निजी क्षेत्रको सामूहिक आवाज आउनुपर्ने उनले बताए ।
कार्यक्रममा महासंघका वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले सदस्य संघहरुलाई महासंघले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सरकारमा उद्योगी व्यवसायीहरूप्रति हेर्ने दृष्टिकोण कहिल्यै परिवर्तन नभएको आभाष भएको सभापति श्रेष्ठको दुःखेसो छ । उनले भने, ‘सरकारले उद्योग व्यवसायसँग सम्बन्धित दुई दर्जनभन्दा बढी ऐनहरू परिमार्जन ग-यो तर यसमा उद्योगी व्यवसायीहरूलाई दण्ड र सजायका कुराहरुमा मात्र बढी जोड दिइएको देखियो ।’ यसबारे सामूहिक धारणा बनाएर आवाज उठाउनुपर्नेमा उनले जोड दिए । साना तथा मझौला उद्यम व्यवसायीहरूका लागि वित्तीय पहुँचमा सहजता पु-याउन महासंघले नेपाल राष्ट्र बैंकसँग पहल गर्दै आएको पनि उनले जानकारी दिए । साथै उनले स्वदेशी वस्तुको प्रयोग गर्ने सरकारकोे नीतिको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिए ।
महासंघका अर्का उपाध्यक्ष रामचन्द्र संघाईले ब्याजदरको वृद्धि, रेमिट्यान्समा गिरावट, मुद्रा सञ्चिति घट्दै जाँदा अर्थतन्त्र दबाबमा रहेको र त्यसको प्रत्यक्ष प्रभाव उद्योगी व्यवसायीमा समेत परेकाले महासंघले समस्या समाधानमा निरन्तर पहल गर्दै आएको जानकारी दिए । उनले सदस्य संघहरूका क्षेत्रगत समस्या समाधानमा महासंघले सधैँ उच्च प्राथमिकता दिने प्रतिबद्धता समेत जनाएका थिए । हालै निर्वाचन सम्पन्न भएका महासंघका वस्तुगत सदस्य संघहरुका अध्यक्ष एवं पदाधिकारीहरूलाई आइतबार महासंघ सचिवालयमा बधाई स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।