काठमाडौं । प्राइम कमर्सियल बैंकले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्नेभएको छ । बैंंकका अनुसार प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० वर्षे अवधिको वार्षिक प्रतिशत ब्याजदर कायम रहेको प्राइम डिबेञ्चर २०८८ जारी गर्न लागिएको हो ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत यही चैत १६ गतेबाट खुला हुने ऋणपत्रको बिक्री कार्य छिटोमा यही चैत्र २१ गते र ढिलोमा चैत्र ३० गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम पाँच लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी २२ अर्ब तथा जारी पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार आठ सय चार रूपैयाँ रहेको बैंकको चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार आठ सय चार रुपैयाँ रहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ८१ करोड ३३ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ५८ अर्ब ९३ करोड नौ लाख ५२ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५४ अर्ब ३९ करोड ४२ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ७६ करोड ४२ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ८८ करोड ९६ लाख १२ हजार पाँच सय ३१ रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने शून्य दशमलव ७८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ५४ अर्ब १३ करोड ९५ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ३८ करोड ३७ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ९१ करोड ५० लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य आठ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २७ प्रतिशत रहेको थियो ।