काठमाडौं । एनएमबी बैंकले प्रदेश नं. २ का उखुकिसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म एक सय ५६ जना उखु किसानहरूलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ ।
बैंकले उखुकिसानहरूलाई सहजरूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो । सम्झौताअनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखुखेती गर्न प्रोत्साहान गर्दै किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो साथै सुगर मिल्ससँग सहकार्य गरी किसानहरूको उखुखेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोगहरू पनि गर्दै आएको छ ।
कर्जा प्रवाह भएपश्चात् हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानहरूको जीवनस्तर परिवर्तन भएको र किसानहरूले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाइएको छ । चिनी उद्योगहरूमा उखुको माग हुँदाहुँदै पनि कर्जा नपाउँदा उखुखेती गरी उत्पादन बढाउन नसकेका किसानहरूले, बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि आफूलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महसुस गरेका छन् ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखाहरू, एक सय ३९ एटीएमहरू, १० वटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।