काठमाडौं । नियमविपरीत कार्य गरेको भन्दै नेपाल धितोपत्र बोर्डले मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ । बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनीलाई नियमविपरीत कार्य गरेको आधारमा नगद जरिवाना गरिएको हो ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खण्ड (ठ) विपरीत कार्य गरेको देखिएकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ७५ हजार रुपैयाँ जरिवाना गरिएको बोर्डले जानकारी दिएको छ ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (१) को ‘ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसँग कारोबार सम्झौता गर्नुपर्नेछ’, व्यवस्था र सोही विनियमको उपविनियम (२) को ‘उपविनियम (१) बमोजिमको सम्झौतामा समावेश गर्नुपर्ने विषयहरुमा अन्य व्यवस्थाहरुको अतिरिक्त खण्ड (ठ) मा कारोबार सदस्य र लगानीकर्ताबीच लिन दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफलसम्बन्धी विषय पनि उल्लेख हुनुपर्ने’ व्यवस्था छ ।
तर त्यसविपरीत काठमाडौंको हात्तिसारमा रहेको मल्ल एण्ड मल्ल स्टकले सम्झौता नगरी आफूखुसी १३ प्रतिशतदेखि १८ प्रतिशतसम्म ब्याज असुलउपर गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको बोर्डले जनाएको छ ।