काठमाडौं । हरेक वर्ष मुलुकलाई आवश्यक ३७ प्रतिशत रासायनिक मल आपूर्ति हुन सक्दैन । महालेखा नियन्त्रक कार्यालयका अनुसार अर्कोतर्फ रासायनिक मल (विशेष गरी डीएपी र युरिया) आपूर्ति ढिलाइ हुँदा औसत आपूर्ति समय करिब दुई सय २४ दिनसम्म लाग्ने समस्या यथावत् छ । यसले गर्दा कृषकले हरेकजसो समयमा रासायनिक मलको अभाव खेप्नुपरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार रासायनिक मलको मागअनुरुप परिपूर्ति गर्नका लागि नीतिगत सुधार आवश्यक छ ।
रासायनिक मलको अभाव हुन नदिन तथा कृषकले सहजै मल प्राप्त गर्न नीतिगत सुधार अर्थात् रणनीतिक योजना आवश्यक रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘नीतिगत सुधार अर्थात् रणनीतिक योजना अभावकै कारण यो समस्या देखिएको हो’, मन्त्रालयका एक अधिकारीले भने, ‘यसका लागि आउने आर्थिक वर्षका लागि आवश्यक पर्ने मल अघिल्लो आर्थिक वर्षमा नै व्यवस्थापन गर्ने रणनीतिक योजना तयार गरी त्यसलाई कार्यान्वयन गर्नु आवश्यक छ । जसलाई हामी नीतिगत रणनीति भनी व्याख्या गर्न सक्छौँ । रासायनिक मलको अभाव परिपूर्ति गर्न यो एउटा विशेष प्रक्रिया हो भन्न सक्छौं ।’
पछिल्लो समय नेपाल सरकारदेखि भारत सरकारमार्फत सोझै मल खरिदबिक्री अर्थात् नेपाल ल्याउने प्रक्रिया छ जुन रासायनिक मल अभाव नगराउने एउटा सरल प्रक्रिया हो ।
मन्त्रालयले यस वर्ष पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारीमा सरकार छ भने तीन लाख मेट्रिक टन आउने क्रममा छ । यता रासायनिक मलको सामान्य माग वार्षिक छ लाख मेट्रिक टन छ । मुलुकमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले रासायनिक मलको आयात गर्ने गरेका छन् । सरकारले आर्थिक वर्ष २०७४/०७५ मा तीन लाख ६६ हजार सात सय ९४ मेट्रिक टन, ०७५/०७६ मा तीन लाख ५९ हजार ८६ मेट्रिकटन र ०७६/०७७ मा तीन लाख ९५ हजार नौ सय ५९ मेट्रिक टन मलको आपूर्ति गरेको थियो । जुन मागभन्दा निकै कम हो । यसले हिउँदे र वर्षेबालीको लागि रासायनिक मलको चरम अभाव हुने गरेको छ । जसले गर्दा कृषकहरु आन्दोलनमा उत्रिनुपर्ने बाध्यता छ । मल आपूर्ति गर्दा बोलपत्र आह्वानदेखि ढुवानीलगायतका समस्या छ । मल आपूर्तिको विश्लेषण गर्दा बोलपत्र सूचना आह्वानदेखि आयात विन्दुमा सामान डेलिभरी गर्न औसतमा दुई सय छ दिन लागेको कार्यालयले बताएको छ ।
पछिल्लो समय भने विश्व बजारमा रासायनिक मल पर्याप्त उपलब्ध नहुनले गर्दा नेपालमा पनि त्यसको असर पर्ने निश्चित रहेको मन्त्रालयले जनाएको छ । तर, कृषकले रासायनिक मल प्राप्त गर्न नसक्नुमा त्यसलाई मात्र कारक भने मान्दैनन् मन्त्रालयका अधिकारीहरु । उनीहरु प्रांगारिक मलको प्रयोग कमी हुनुले पनि थप समस्या देखा परेको बताउँछन् । प्रांगारिक मल बनाउन समय धेरै लाग्नु, गाउँघरमा काम गर्ने (युवा) जनशक्तिको अभाव हुनु पनि हो । अर्कोतर्फ रासायनिक मलको तुलनमा प्रांगारिक मल प्रयोग गर्दा छिटो उत्पादन नहुनुले पनि कृषकहरु रासायनिक मलतर्फ धेरै आकर्षित भएका हुन् ।
त्यस्तै तरकारी खेती बढी गर्नु पनि हो । बारा, पर्सा, चितवनलगायतका खाद्यान्न तथा तरकारी बालीहरु धेरै उत्पादन हुने तराईका क्षेत्रहरुमा कृषकहरुले व्यावसायिक तरकारी खेती गर्दा रासायनिक मलको प्रयोग बढेको छ । यसले पनि माग बढेको छ भने अर्कोतर्फ मौसमी बालीहरुको लागि रासायनिक मल अभाव हुने गरेको छ । जसले गर्दा उच्च माग न्यून आयातले गर्दा हरेक सिजन, हरेक स्थानका कृषकहरुले मलको अभाव झेलिरहेका छन् ।
त्यस्तै, रासायनिक मल आपूर्ति कम्पनीहरुले समेत आयात गर्न सकेका छैनन् । २०७६/०७७ र २०७७/०७८ को पहिलो अर्धवार्षिक अवधिमा कृषि सामग्री कम्पनी लिमिटेडले खरिदको लागि छनौट गरेको छ आपूर्तिकर्ताले एक लाख ३० हजार मेट्रिक टन युरिया मल र २० हजार मेट्रिकटन डीएपी मल आपूर्ति गर्न सकेका छैनन् । मन्त्रालयका अनुसार रासायनिक मलको विकल्पमा सरकारले सदैव उठाउँदै आएको प्रांगारिक मल कारखाना उपयुक्त हुनेछ ।