काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ माघ मसान्तमा एक खर्ब ५३ अर्ब ६९ करोड लगानीमा छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा एक लाख ४२ हजार तीन सय ४४ जना ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १४ अर्ब ७८ करोड कर्जा बक्यौता छ ।
सोमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ५८ हजार दुई सय ६९ ऋणीलाई प्रवाह भएको एक खर्ब ३६ अर्ब ८३ करोड कर्जा छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८१ हजार दुई सय २७ महिला उद्यमीलाई प्रवाह भएको ७४ अर्ब १९ करोड कर्जा छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ४८ ऋणीको तीन अर्ब ७६ करोड रुपैयाँ कर्जा बक्यौता छ ।
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ माघ मसान्तसम्ममा एक अर्ब १३ करोड स्वीकृत भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रगुन खड्केलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका १७ क्षेत्रपाटी बस्ने ३८ वर्षीय खड्केलाई बुधबार काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका खड्केले महालक्ष्मी विकास बैंकको न्युरोडमा रहेको आफ्नो नाउँको खाताबाट रकम भुक्तान हुने भने पर्याप्त रकम नभएको भनी जानी जानी झुक्यानमा पारी जाहेरवालालाई चेक दिएका थिए । उक्त चेक भुक्तान हुन नसकेपछि उच्च अदालत पाटनले वि.सं. २०७७ फागुन ९ गते प्रतिवादी खड्केलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ३६ लाख रुपैयाँ जरिवाना र सात दिन कैदको फैसला तोकिएको प्रवक्ता महतोले जानकारी दिए ।
सीआईबीको फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले पक्राउ गरेको हो । खड्केलाई बुधबार नै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता महतोको भनाइ छ ।