काठमाडौं । नेपालमा बौद्धिक सम्पत्ति नक्कल गर्ने प्रवृत्ति रोकिएको छैन । विश्वमा चर्चा कमाएका बौद्धिक सम्पत्ति (चिह्न, डिजाइन र ट्रेडमार्क)हरु नेपाली उद्योगीहरुले नक्कल गर्ने प्रवृत्ति रहेको निजी छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघले बताएको छ ।
विश्वका उपभोक्तामाझ परिचित चिह्न, डिजाइन ट्रेडमार्क नक्कल गरी आफ्नो उत्पादनमा राख्ने प्रवृत्ति नेपाली उत्पादनकर्तामा रहेको महासंघका निर्वतमान अध्यक्ष श्याम प्रसाद गिरीले बताए । राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्नो उत्पादनलाई आफ्नो चिह्न, संकेत राखेर चिनाउनुपर्नेमा त्यसो हुन नसकेको बताए । ‘यसलाई व्यवस्थित बनाउनु आवश्यक छ तथा नेपाली उत्पादनकर्ताले आफनो उत्पादनको सम्पूर्ण किसिमको अधिकार आफूसँग राख्न सकेमा त्यसले नेपाली उद्योगीलाई राहत मिल्छ’, निर्वतमान अध्यक्ष गिरीले भने ।
यता उद्योग विभागले बौद्धिक सम्पत्तिको नक्कल गर्ने प्रवृत्ति कायमै हुँदा विश्वचर्चित उत्पादनकर्ताहरु उजुरी लिएर आउने गरेको बताएको छ । बजार विस्तार सहजीकरण, प्रयोगकर्ता वृद्धि गराउन तथा आर्थिक लाभ चाँडै होस् लगायतका उद्देश्य लिई नेपाली उत्पादनकर्ताहरुले बौद्धिक सम्पत्ति नक्कल गर्ने प्रवृत्ति रहेको विभागका अधिकारीहरुको भनाइ छ ।
बौद्धिक सम्पत्ति नक्कल गर्ने प्रवृत्ति कायमै हुँदा पछिल्लो समय बौद्धिक सम्पत्तिमाथि आफनो पहिचान तथा अधिकार कायमै राख्नको लागि चिह्न, डिजाइन ट्रेडमार्क दर्ता गर्न आउनेको संख्यामा बढोत्तरी हुँदै गएको विभगाले जनाएको छ । यसरी बौद्धिक सम्पत्ति दर्ता बढ्नुमा भने नेपाली उत्पादनकर्ता तथा उद्योगीमा आएको बौद्धिकता नै हो । उद्योगीहरुमा देखापरेको बौद्धिक सम्पत्तिसम्बन्धी बौद्धिकताले गर्दा नै उनीहरु यसतर्फ बढी सचेत भएको विभागका अधिकारीहरुको भनाइ छ ।
चालू आर्थिक वर्षको छ महिनाको अवधिमा पेटेन्ट ७९, डिजाइन दुई सय ६८ र टे«डमार्क ५४ हजार सात सय ३२ वटा विभागमा दर्ता भएका छन् । त्यस्तै छ महिनाको अवधिमा ट्रेडमार्क नक्कल गरेको भन्दै ३१ वटाभन्दा बढी उजुरी परेको छ ।
विभागमा हालसम्म ५३ हजार ५३ वटा ट्रेडमार्क दर्ता भएका छन् जसमध्ये २८ हजार ८५ वटा स्वदेशी र २३ हजार एक सय ३७ वटा विदेशी रहेका छन् । यस्तै पेटेन्ट तथा डिजाइन एक सय ९५ वटा र पेटेन्ट ७६ वटा दर्ता भएका छन् । पछिल्लो समय नेपाली समाज गुणस्तरमा विशेष ध्यान दिन थालेको महासंघले जनाएको छ । हाम्रा उत्पादनहरु गुणस्तरीय, विश्वसनीय बनाउनु अहिलको आवश्यकता छ त्यसैले तपाईंको गुणस्तरीय उत्पादन भएमा त्यसलाई चिनाउनको लागि बौद्धिक सम्पत्तिले थप मद्दत गर्ने निवर्तमान अध्यक्ष गिरीले बताए । नेपालमा प्याटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२, प्रतिलिपि अधिकार ऐन, २०५९ तथा प्रतिलिपि अधिकार नियमावली, २०६१ प्रचलनमा रहेको छ । यसका साथै अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुरुप समेत विभागले कारबाही गर्ने गरेको छ ।