काठमाडौं । ज्योति विकास बैंकले प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत म्यागङ गाउँपालिका वडा नं.३ देउराली–नुवाकोटस्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको बैंकले जानकारी दिएको छ । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।
देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रबिन रेग्मी र देउराली शाखा प्रबन्धक हर्क बहादुर तामाङद्वारा म्यागङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष हरि बहादुर तामाङको उपस्थिमा सामरी स्वास्थ्य केन्द्रलाई सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको थियो । साथै सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो । बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत न्यानो नानी परियोजना– २ अन्तर्गत हालसालै लिपानीबिर्ता स्वास्थ्य चौकी–परवानीपुर, हेटौडा अस्पताल, बेतिनी सामुदायिक स्वास्थ्य चौकी–फापरबारी, चन्द्रनिगाहपुर अस्पताल–रौतहट, स्वास्थ्य चौकी चिउरीडाँडा– खोटाङ, कल्पवृक्ष स्वास्थ्य चौकी–सिन्धुली, बर्दिया जिल्ला अस्पताल, शिशुवा अस्पताल–कास्की, महादेवपुरी स्वास्थ्य चौकी–बाँके, स्वास्थ्य सेवा कार्यालय–जाजरकोट, प्राथमिक स्वास्थ्य केन्द्र प्युठान र इनरुवा अस्पताल–सुनसरीलाई एक–एक थान बेबी वार्मर प्रदान गरी १२ वटा बेबी वार्मर प्रदान गरिसकेको छ ।
बैंकले १३औँ वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई न्यानो नानी (बेबी वार्मर) बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको ‘न्यानो नानी’ परियोजना– २ को लागि सहयोग प्रदान गरेको थियो । नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले हाल एक सय १४ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६३ वटा एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आइरहेको छ ।