काठमाडौं । मेरो माइक्रोफाइनान्सले दुई दिवशीय शाखा प्रबन्धहरूको समीक्षा गोष्ठी चितवनमा सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय कार्यालयका नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललगायत अनुगमन कार्यालय र शाखा प्रबन्ध गरी एक सय ९० जना कर्मचारीहरूको सहभागितामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ ।
संस्थाका विभागीय प्रमुखहरूले सहजीकरण गरेको उक्त गोष्ठीमा अनुगमन अधिकृतहरूले शाखा प्रबन्धकहरूले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती तथा रणनीतिहरूको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगति प्राप्ति गर्ने प्रतिबद्धता जनाएका थिए । प्रशिक्षण कार्यक्रममा नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले ग्राहक सेवाको गुणस्तर अभिवृद्धि, नयाँ प्रडक्ट, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा बैंकिङ सेवा विस्तार जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।
अर्का प्रशिक्षक जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्माले मानव जीवनलाई बाँच्नका लागि आत्मशान्ति अत्यन्त जरुरी छ । त्यसैले खुशीले बाँच्नुस्, हाँस्नुस् र रमाउनुस्, योग, ध्यानमा केही समय खर्चनुस् । जसले कार्यसम्पादनमा निखार तथा सुधार ल्याउँछ र सेवा प्रवाहको गुणस्तरमा वृद्धि हुने बताए । समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले विगतको असहज परिस्थितिको सामनाबाट टाढा भए पनि प्रतिस्पर्धी वातावरणमा दिगो र गुणात्मक सेवा प्रवाह गर्न कर्मचारीहरूको महत्वपूर्ण जिम्मेवारी रहने भएकोले रतिभर बिचलित नभई अघि बढ्न आह्वान गरे ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड देशको ६४ जिल्लामा एक सय ५० वटा शाखा सञ्जालमार्फत करिब एक लाख ८० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु-याइरहेको छ ।