मस्को । रुसमा युक्रेनमाथि आक्रमण थालेयता नागरिकको जीवनयापन लागत अर्थात् कस्ट अफ लिभिङ ह्वात्तै बढेको छ । त्यहाँको सरकारी तथ्यांकअनुसार बितेको हप्ता मात्रै यस्तो लागत १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसले देशमा महंगी अझै बढाउने देखिएको छ । रुसी मुद्रा रबल युक्रेन आक्रमणयता ह्वात्तै अवमूल्यन भएको छ । यो वर्षमात्रै रुसी रबल २२ प्रतिशत हाराहारीले घटेको छ । यसले आयातित वस्तुको मूल्य थप बढाएको छ । महंगीसम्बन्धी पछिल्लो विवरण महिना दिनयता पहिलोपटक खुलेको सेयरबजारपछि सार्वजनिक भएको हो ।
उतारचढावका बीच धेरैजसो सेयर मूल्य आकाशिएको छ । त्यहाँका बेन्चमार्क मोइक्स इन्डेक्स बिहीबार ५.६ प्रतिशतले बढेको थियो । विश्लेषकहरुले सरकारले अर्बौँ डलर मूल्यबराबरको रुसी सेयर खरिद गर्ने योजनाले सेयरबजारलाई सहयोग गरेको बताएका छन् । अहिले पनि विदेशीसँगको व्यापारमा प्रतिबन्ध छ भने द्रुत खरिदबिक्री पनि बन्द नै छ ।
बुधबार मात्रै रुसको अर्थ मन्त्रालयले मार्च १८ सम्मको हप्तामा वार्षिक मूल्यवृद्धि १४.५ प्रतिशतले बढेको बताएको छ । जुन सन् २०१५ यताकै उच्च दर हो । त्यहाँको द फेडेरल स्टेट स्टाटिस्टिक्स सर्भिसले चीनको मूल्य ३७.१ प्रतिशतले केही क्षेत्रमा बढेको र औसत मूल्यवृद्धि १४ प्रतिशत रहेको बताएको छ । त्यस्तै चिनीपछि रुसमा प्प्याजको मूल्य पनि ह्वात्तै बढेको छ ।
यो हप्ता प्याज १३.७ प्रतिशतले राष्ट्रव्यापी रुपमा र केही क्षेत्रमा ४०.४ प्रतिशतले बढेको छ । त्यस्तै न्यापी (पुछपाछमा प्रयोग हुने कागज) को मूल्य पनि ४.४ प्रतिशतले महंगो भएको छ । सादा चियाको मूल्य पनि चार प्रतिशतले बढेको छ भने शौचालयमा प्रयोग हुने कागज तीन प्रतिशतले महंगो भएको छ । रुसी मुद्रा कमजोर हुँदा मूल्यवृद्धि आकाशिन पुगेको बताइएको छ ।
यता संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी बैंकहरुसँगको सम्बन्ध तोडेका छन् । उनीहरुले रुसी केन्द्रीय बैंकसँग पनि कारोबार सम्बन्ध गर्न निषेध गरेका छन् ।
मार्च महिनामा बैंक अफ रसियाले ब्याजदर २० प्रतिशतले बढाएको थियो । खासगरी मुद्रा अवमूल्यन रोक्न यसो गरिएको थियो । युक्रेनमाथि आक्रमणको विरोधमा पश्चिमा देश र बहुराष्ट्रिय कम्पनीहरुले रुसी व्यवसायबाट हात झिकिरहेका छन् । त्यसमाथि रुसले यी देशहरुले लगाएको प्रतिबन्धको सामना समेत गरिरहेको छ ।
बुधबार मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्राकृतिक ग्यास विरोधी देशलाई रबलमा मात्र बिक्री गर्न दिने बताएका थिए । युरोप आफ्नो ४० प्रतिशत ग्यास आपूर्ति रुसमा निर्भर छ ।