काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः तीन अर्ब ४५ करोड रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंकहरु र १७ वटा फाइनान्स कम्पनीहरु समेतले लगानी गर्नसक्ने गरी प्रस्ताव आह्वान गरिएको हो ।
रकम लगानीको लागि सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले यही चैत १५ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रुपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार यसरी राखिने रकमको अवधि तीन सय ६६ दिन अर्थात् २०७९ वैशाख ४ देखि २०८० वैशाख ४ सम्मको लागि हुनेछ ।
लगानीको लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि दुई अर्ब ७६ करोड, विकास बैंकहरुको लागि ५१ करोड ७५ लाख र फाइनान्स कम्पनीहरुको लागि १७ करोड २५ लाख छुट्याइएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
करोड बढी जरिवाना तोकिएका व्यक्ति पक्राउ
महानगरीय अपराध महाशाखा मीनभवनले एक करोड रुपैयाँभन्दा बढी जरिवाना तोकिएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार बाराको सिमरा उपमहानगरपालिका घर भई हाल काठमाडौंको बूढानीलकण्ठ ८ बस्ने ६८ वर्षीय कृष्ण बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय गरी बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ बाट पक्राउ गरिएको हो ।

रविन्द्र थापाको जाहेरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७७ मंसिर २२ गतेको फैसलाले प्रतिवादी थापालाई एक करोड २५ लाख रुपैयाँ बिगोबापतको जरिवाना र सोबमोजिम हुने ब्याज समेतको बिगो दाखिला गर्नुपर्ने फैसला तोकिएको थियो । तर प्रतिवादी थापा उक्त रकम दाखिला नगरी फरार रहेकाले २०७८ फागुन २० गते काठमाडौं जिल्ला अदालतबाट एक वर्ष कैद सजाय र पक्राउ पुर्जी जारी भएको महाशाखाको भनाइ छ ।
त्यसपछि फरार रहेका थापालाई जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय गरी महानगरीय अपराध महाशाखाले बाराबाट पक्राउ गरेको हो । पक्राउ परेका थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको महाशाखाले जानकारी दिएको छ ।