विराटनगर । राजस्व अनुसन्धान कार्यालय सुनसरीले पछिल्लो समय तस्करहरूले भन्सार नाकाभन्दा बाहिरको ठाउँबाट सामान ओसारपसार गरी सीमाक्षेत्र नजिकैको गाउँमा थुपार्ने र त्यहीँबाट सानो–सानो परिमाणमा मालवाहक ट्रकबाट ओसारपसार गर्ने गरेपछि सिमा नाकामा निगरानी बढाएको छ ।
तस्करहरूले तस्करी गरी ल्याएका सामान थुपार्ने र सुनसरी, मोरङ, झापा र सप्तरी जिल्लालाई हबका रूपमा प्रयोग गर्नेगरेको गुनासाहरू कार्यालयमा व्यापकरूपमा आउन थालेपछि राजस्व अनुसन्धान कार्यालय सुनसरीले सिमा नाकामा निगरानी बढाएको हो । त्यसरी विभिन्न जिल्लामा जम्मा गरिएका तस्करीका सामान त्यही जिल्लाबाट सशस्त्र प्रहरीको सेटिङमै विभिन्न ठाउँमा पठाउने गरिएको दाबी पनि समाचारस्रोतले गरेको छ । तस्करले सामान राख्नका लागि बोर्डर नजिकैको मुख्य सहरी क्षेत्रबाट नजिक पर्ने गाउँबस्तीमा गोदाम बनाएका छन् ।
स्रोतका अनुसार नेपाल र भारतका विभिन्न नाकाबाट राजस्व छली गरी करोडौँ मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम पछिल्लो समय बढेर गएको छ । राजस्व अनुसन्धानले नाकाहरूमा कडाइ गरेको भए पनि चोरी पैठारीमार्फत दैनिक करोडौँ मूल्यका रड, सिमेन्ट, खाद्यान्न, कपडा, चिनी, हार्डवेयरसम्मका सामानको तस्करी हुने क्रम व्यापकरूपमा बढेको छ । यस्ता वस्तुको तस्करी हुँदा भन्सार गस्तिदेखि तस्करी नियन्त्रणसम्मको जिम्मेवारी पाएको ससस्त्र प्रहरीको बीओपी मुकदर्शक बन्ने गरेको छ । बीओपीले तदारुकताका साथ काम नगर्दा राजस्व अनुसन्धानले मात्रै चाहेर पनि सिमा नाकाबाट हुने तस्करी नियन्त्रण नहुने जानकारहरू बताउँछन् ।
राजस्व अनुसन्धानले तस्करी नियन्त्रण गर्न भीसीटीएस प्रणाली लागू गरे पनि कतिपय व्यवसायीले कारोबार गर्दा सो प्रणालीमा आबद्ध नगरी कारोबार गरिरहेको आधारसम्म प्रमाणका रूपमा सुनसरी राजस्वले फेला पारेको छ । सो प्रणालीमा आबद्ध नहुनेहरूलाई पनि कारबाही गर्ने चेतावनी राजस्व अनुसन्धान कार्यालय सुसरीले दिइसकेको छ । कुनै पनि वस्तुको ओसारपसार गर्दा बिल र भीसीटीएस प्रविष्ट गरेको प्रमाणसँगै लिएर चालक एवं संलग्न कर्मचारी हिँड्न राजस्वले सचेत समेत गराइसकेको कुरा बताइएको छ । तर कतिपय कारोबार वैधानिक तवरबाट पैठारी नभएका वा खरिद भएका वस्तु देखी चोरी पैठारीबाट भित्रिएका मालवस्तु समेत एकै बिलबीजकबाट ओसारपसार गरेको पाइएपछि राजस्व अनुसन्धान कार्यालय सुसरीमा आक्रामकरूपमा कारबाही गर्ने अभियानमा सक्रिय भएर लागेको छ । अहिले राजनीतिक संक्रमण र निर्वाचनको समयमा तस्करीका घटना अत्यधिक बढ्ने हुँदा पनि राजस्व अनुसन्धान सुनसरी नियन्त्रणका लागि सक्रिय बन्दै गएको अनुमान गर्न थालिएको छ । स्थानीयतहको निर्वाचन घोषणा भइसकेकाले तस्करले तस्करीको क्रम बढाउन सक्ने देखेपछि राजस्वको सक्रियता बढेर गएको छ ।
विशेषगरी निर्वाचनको समयमा अधिकांश सुरक्षाकर्मी र कर्मचारी निर्वाचनमा खटिने र नाकालगायत सुरक्षा केन्द्रहरूमा सुरक्षाकर्मीको न्यून संख्या हुने भएकाले तस्करहरूले त्यसैको फाइदा उठाउँदै सामान तस्करी गर्ने क्रमलाई अझै उच्च बनाउने हुँदा राजस्व अनुसन्धान सुनसरीले आफ्नो अभियानलाई व्यापक बनाएको बुझिएको छ ।