काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तीन वर्षमा अग्रीमरुपमा रकम भुक्तानी गर्नेगरी नवीनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने देखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्यून आय भएका व्यक्तिहरुदेखि अधिक आय भएका व्यक्तिहरुले खरिद गर्नसक्ने देखिएको छ । न्यूनतम ५० हजार रुपैयाँदेखि आय स्रोतको आधारमा चाहेअनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने व्यवस्था रहेकोले उक्त बीमा योजनामा सबैको पहुँच हुने देखिएको छ । साथै न्यूनतम नौ वर्षदेखि अधिकतम १८ वर्षसम्मको अवधि कायम गरी १६ वर्षदेखि ५० वर्षका व्यक्तिहरुले बीमा गर्नसक्ने कम्पनीले जनाएको छ । बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जीवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुनआएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा समेत बीमा रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ । कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्कबराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभबापतको अधिकतम रकम एक करोडसम्म हुने व्यवस्था रहेको छ ।
प्रत्येक तीन वर्ष पूरा भएको बीमालेखको वार्षिकोत्सव मितिमा अग्रीम भुक्तानीबापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तिमा बीमितले प्राप्त गरेको अग्रीम भुक्तानी रकमपश्चात् बाँकी हुनआउने बीमा रकम र बोनस समेत प्रदान गरिने व्यवस्था रहेको छ । यस बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय, घातक रोगसम्बन्धी थप सुविधाहरु लिन सक्ने व्यवस्था रहेको छ । साथै बीमालेख लिएको मितिले तीन वर्ष पूरा भएपश्चात् समर्पण मूल्य, चुक्ता मूल्य तथा कर्जा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार प्रत्येक तीन वर्षपछि अग्रीम भुक्तानी हुने र सबै वर्गका मानिसहरुको पहुँचमा पु-याउने उद्देश्यले ल्याइएको बीमा उक्त योजना बीमा गर्नेहरुको हितमा रहेको छ ।