काठमाडौं । सानिमा बैंक लिमिटेडले बिहीबार चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका सञ्चालक डा. केशव प्रसाद आचार्यले संयुक्तरुपमा गरेका छन् ।
उद्घाटन समारोहमा महजोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । समुद्घाटन समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र त्यहाँको व्यावसायिक विकासमा टेवा पु-याएकोमा शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका सञ्चालक डा. केशव प्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकको देशका सातै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय र एक सय १४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।