काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयको वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०१३ साल माघ २३ गतेदेखि समुदायबाट सञ्चालन हुँदै आएको यस चिकित्सालयको साधारणसभा शनिबार सम्पन्न भएको हो ।
चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सभामा आव २०७८/०७९ को कुल आम्दानी छ करोड ६९ लाख एक हजार पाँच सय रूपैयाँ र कुल खर्च छ करोड ६८ लाख ३१ हजार रूपैयाँको बजेट पारित गरेको थियो । सभामा अस्पतालकी कोषध्यक्ष सजनी जोशीले आव २०७७/०७८ मा कल आम्दानी पाँच करोड ६२ लाख छ हजार दुई सय २९ रूपैयाँ र कुल खर्च छ करोड २४ लाख २० हजार दुई सय १२ रूपैयाँ भएको जानकारी दिएकी थिइन् । यस्तै सभाले महासचिव राजेन्द्र प्रसाद मानन्धरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष जोशीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।
अस्पतालमा यस वर्ष ८७ हजार नौ सय २७ जना बिरामीलाई चिकित्सा सेवा प्रदान गरिएको थियो । त्यसमध्ये चार हजार एक सय ३७ जनालाई १२ लाख ४५ हजार दुई सय ४० रूपैयाँ बराबरको विशेष छुट तथा निःशुल्क उपचार सुविधा प्रदान गर्नुका साथै एक सय २८ जना बिरामीलाई एक लाख ६० हजार नौ सय २६ रूपैयाँबराबरको निःशुल्क औषधि वितरण गरेको अस्पतालकी प्रशासन प्रमुख लिना शाक्यले जानकारी दिइन् ।
उक्त सभामा उपाध्यक्ष कुमारदेव मानन्धर, मेडिकल डाइरेक्टर डा. प्रेमल कुमार जोशी र काठमाडौ महानगरपलिका वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले आ–आफ्ना धारणा राखेका थिए । साथै सोही दिन सदस्यहरूलाई ब्लड सुगर, एलएफटी, आरएफटी, ब्लड प्रेसर परीक्षण तथा कोभिड भ्याक्सिनको बुस्टर डोज दिनुको अतिरिक्त रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।