काठमाडौं । नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको एक मात्र आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले हिमालय उद्धार संघ नेपाललाई होण्डा जेनेरेटर सहयोग गरेको छ ।
विशेषतः हिमाली क्षेत्रका अतिविकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहुँच वा पहुँच नै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघलाई फाउण्डेसनले जेनेरेटर सहयोग गरेको हो । अक्सिजन, भिडियो एक्स–रे तथा अन्य डायग्नोष्टिक उपकरणहरु सञ्चालन गरी स्वास्थ्यशिविर सञ्चालन तथा उद्धार कार्यमा सहज होस् भन्ने हेतुले संस्थालाई ज्योति समूहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेसनका सञ्चालक मिरा ज्योति र स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद् ज्योतिले एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेका हुन् ।
उनीहरुले उक्त संस्थालाई भविष्यमा समेत आवश्यक सहयोग गर्दै जाने जानकारी गराए । यस ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम इन्धन खपत, कम आवाज, न्यूनतम सञ्चालन खर्च, वातावरणमैत्री र भरपर्दो मानिन्छ । यो सेग्मेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्री हुने पावर प्रोडक्टहरुमा पर्दछ ।