काठमाडौं । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरणमैत्री लुङ्गटाको सुरुवात गरी वातावरणसम्बन्धीको सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सम्पन्न गरेको छ । नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरूको विस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गर्ने कार्य गरिएको हो ।
हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा सुरु गरेको वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउने उद्देश्यले यो कार्यको आरम्भ गरिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, विश्व वन्यजन्तु कोष नेपालका देश प्रतिनिधि डा. घनश्याम गुरुङ, सामाजिक अभियन्ता तथा गायिका आनि छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा गरिएको सो कार्यक्रममा सहभागीहरूले यो अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उपस्थित अतिथिहरूले वातावरणमैत्री मैत्री लुङ्गटामा हस्ताक्षर गर्दै नेपालमै उत्पादन भएको वातावरणमैत्री सामान प्रयोग गर्ने यो अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । बैंकले नियमित बैंकिङ गतिविधिअन्तर्गत पनि दिगो विकासलाई सहयोग पुग्ने कार्य गर्दै आएको छ । यसै वर्षदेखि सुरु गरेको नबिल दिगो बैंकिङअन्तर्गत हरित उद्यम, कृषि, नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहन समेत गर्दै आएको छ । हरेक दिगोपनाको सुरुवात घरबाट हुन्छ भन्ने उद्घोषसहित सुरु भएको नबिल दिगो बैंकिङले समाजका विभिन्न क्षेत्र र व्यक्तिलाई जोड्ने र वातावरण संरक्षणमा विभिन्न योगदान गर्ने क्रियाकलापहरूलाई प्राथमिकतामा राखेको छ ।
विभिन्न अध्ययनहरूले देखाएअनुसार नेपाल जलवायु परिवर्तनको जोखिममा विश्वकै चौथो स्थानमा पर्छ । बढ्दै गएको जलवायु परिवर्तनको असरले विपत्को प्रभाव समेत बढाउने हुँदा वतावरण संरक्षणप्रति सबै सचेत र सजग हुनुपर्छ भन्ने मान्यताका आधारमा नबिलले यस किसिमका अभियानलाई अघि बढाएको छ । विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा दिगोपना भएका सामग्रीको प्रयोगलाई प्रवर्द्धन गर्न सुरु गरिएको यो अभियानलाई बैंकले आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिएको छ ।